काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ।
आज ५७.६१ अंकको बढोत्तरीका साथ बजारमा हरियाली छाएको हो। योसँगै नेप्से परिसूचक २०८६.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १०.२२ अंकले बढेर ३९८.८४ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार महेश रिजाल आजको बढाइले बजार लगभग फर्किएको भन्न सकिने बताउँछन्। ‘लगानीकर्तामा मौद्रिक नीति केही लचिलो आउन सक्ने र बजार २५०० को विन्दुसम्म पुग्न सक्ने मनोविज्ञानका कारण बजार बढेको देखिन्छ’, उनले भने, ‘केही दिनदेखि भोलुमले पनि साथ दिएको छ।’
तिलक कोइरालाको आन्दोलनपछि बैंकहरुको फोर्स सेलिङ रोकिँदा बजार यूटर्न लिएको रिजालको तर्क छ।
सक्रिय लगानीकर्ता मोनिका थापा बजार जसरी घटेको थियो, त्यसरी नै बढेको बताउँछिन्। ‘खासगरी बजारमा ४–१२ को डरले र अझै सस्तोमा सेयर पाइन्छ भन्ने मनोविज्ञानले बजार घटेको थियो’, उनले भने, ‘तर, आज आएर पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरुले आक्रमक ढंगले खरिद गर्दा बजारमा बढोत्तरी आएको छ।’
पछिल्लो समय राष्ट्र बैंक पनि दबाबमा परेकोले मौद्रिक नीतिमा केही न केही सकारात्मक नीति आउन सक्ने लगानीकर्ताको मनोविज्ञानले बजार बढेको थापाको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ९.३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.६३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.५ प्रतिशत, विकास बैंक समूहमा ३.३८ प्रतिशत, वित्त समूहमा ४.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.९ प्रतिशत, अन्य समूहमा ४.७५ प्रतिशत, लघुवित्त समूहमा ३.१ प्रतिशत, जीवन बीमा समूहमा १.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा ३.५५ प्रतिशतको बढोत्तरी आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ६२ लाख २७ हजार ६९२ कित्ता सेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँमा किनेबेच भएका छन्।
यो दिन ङादी ग्रुप पावरको २२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ६ करोड ९७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड २४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड २१ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड २ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४ करोड ८० लाख रुपैयाँ र नागरिक लगानी कोष (सीआईटी) को ४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। एसटीसी, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी, सान्जेन जलविद्युत, नेष्डो समृद्ध लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा रसुवागढी हाइड्रोपावर र मध्यभोटेकोशी जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन ङादी ग्रुप पावरका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago