काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्र बैंकले सेयर बजारमा ल्याएको ४–१२ नीतिले ठूला घरानालाई पोस्ने काम भएको बताएका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा महामन्त्री थापाले यस्तो धारणा राखेका हुन्। ‘सेयर बजारमा सुधार गर्ने भनेर ४–१२ को नीति ल्याइयो’, गभर्नर महाप्रसाद अधिकारीप्रति इंगित गर्दै भने, ‘सरको यो नीतिले ठूला घरानालाई पोस्ने र सानोलाई कस्ने काम भयो।’

राष्ट्र बैंकले जेसुकै सोचेको भए पनि अपेक्षाअनुसारको परिणाम नआइसकेपछि यो नीतिलाई सच्याउनुपर्ने थापाले बताए। ‘यसलाई सच्याइएन भने सेयरमा लाखौँ रकम लगानी गरेका साना लगानीकर्ता सडकमा आइपुग्छन्’, उनले भने। 

थापाले आगामी मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने सुझाव पनि दिए। ‘तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिती, आकासिँदो मूल्यवृद्धिजस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ’, उनले भने। 

अन्त्यमा महामन्त्री थापाले गभर्नर अधिकारीप्रति व्यंग्य पनि गरे। ‘मेरो यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो’, उनले भने, ‘एमालेको अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम. अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु।’