काठमाण्डौ । खेलाडीहरुले सेयर बजारमा अति कमजोर कम्पनीहरुलाई समेत कसरी कर्नरिङ गरी मूल्य बढाउँछन् भन्ने एउटा उदाहरण नारायणी डेभलपमेन्ट बैंकलाई लिन सकिन्छ । यो बैंकका पछिल्ला वित्तीय विवरणहरु उत्साहजनक छैनन्, तर कर्नरिङ गर्ने खेलाडीहरुले यसमा राम्रैसँग खेली सर्वसाधारणलाई फसाएका छन् । 

सन् २०२१ को अगस्ट ३१ मा यो कम्पनीको सेयर मूल्य खेलाडीहरुले ११५९ को उचाईमा पुर्याएका थिए । हकप्रद र अन्य यस्तै हल्ला फैलाएर यो कम्पनीको सेयरमूल्य अस्वभाविक बढाएर सर्वसाधारणलाई टोपी लगाई टाठाबाठाले बिक्री गर्ने सफलता पाएका थिए । 

अहिले पनि यो कम्पनीको दोश्रो बजार मूल्य ४७० रुपैयाँ रहेको छ । राम्रो लाभांश क्षमता बनाउने राम्रो वित्तीय अवस्थाका कतिपय वाणिज्य बैंकको मूल्य ४०० रुपैयाँ माथि पुग्न नसकेको बेला यो कम्पनीको मूल्य ४७० रुपैयाँ हाराहारीमा घुम्नुले नेपाली सेयर बजार कसरी चलिरहेको छ भन्ने पनि बुझ्न सकिन्छ । 

धेरै लगानीकर्तालाई लागेको थियो, यो कम्पनीको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको राम्रो वित्तीय विवरण आउला । तर, त्यस्तो भएन ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनी १ करोड ५७ लाख खूद घाटामा छ । अघिल्लो वर्षको तुलनामा खूद घाटा झनै बढेको हो । अघिल्लो वर्षको यही अवधिसम्म १ करोड १९ लाख खूद घाटा थियो । 

घाटा बढिरहेका कारण प्रतिसेयर आम्दानी पनि नेगेटिभ छ । अघिल्लो वर्ष ९.१० रुपैयाँ नेगेटिभ रहेको इपीएस यो वर्ष ८.८८ प्रतिशतले नेगेटिभ छ । 
अघिल्लो वर्ष १ करोड ४१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको कम्पनीले समीक्षा अवधिमा १ करोड ५७ लाखले सञ्चालन घाटा व्यहोरेको छ । 

अघिल्लो वर्ष ९ लाख ३९ हजार खूद ब्याज घाटामा रहेको कम्पनीले यो वर्ष भने ८४ लाख १२ हजार खूद ब्याज आम्दानी गर्ने सफलता पाएको छ । 

हकप्रद सेयर जारी गरी १३ करोडबाट २६ करोड चुक्तापूँजी बनाएको कम्पनीले समीक्षा अवधिमा ३३ करोड ६६ लाख निक्षेप संकलन गरी ३४ करोड २० लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९ करोड ८४ लाख बढी निक्षेप संकलन गरी ६ करोड ८६ लाख बढी कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीको समीक्षा अवधिको खूद घाटा १ करोड ५७ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ८.९९ प्रतिशतको भयावह अवस्थामा रहेको खराब कर्जा अनुपात घटेर २.९४ प्रतिशतमा सीमित बन्न पुगेको छ भने बेस रेट २४.१८ प्रतिशत, सीडी रेसियो १०४.७१ प्रतिशत, प्रतिसेयर नेटवर्थ ५७.६६ रुपैयाँ रहेको छ ।