– अर्जुन तिमिल्सिना

काठमाण्डौ । खासगरी सेयर बजारमा पैसा गुमाउन कोही पनि आएका हुँदैनन्। तर, सबैले सेयर बजारमा पैसा कमाउँदैनन्। 

धेरैलाई लाग्न सक्छ सेयर बजारमा ठूला र टाठाबाठाले प्रशस्तै कमाउँछन् । तर, सधैँ र सबै टाठाबाठले नै पैसा कमाउँछन् भन्ने हुँदैन। 

सेयर बजारमा लामो अनुभव भएका तथा स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटको विचारमा मुख्यगरी राम्रा कम्पनी छनौट गर्न सक्नेले पैसा कमाउन सक्छन्। ‘अहिले बजारमा २०० वटाभन्दा बढी कम्पनी छन्, जसमा राम्रा बढ्ने कम्पनी छानेमा पैसा कमाउन सकिन्छ’, उनले भने, ‘तर, पनि बजार घटेपछि सबैले घाटा खान्छन्। कुरा यतिमात्रै हो कि राम्रा कम्पनी छान्नेले कम र कमसल कम्पनी छान्नेले बढी घाटा व्यहोर्छन्।’

रानाभाट सेयर बजारमा ह्विममा चल्ने र निस्किन जान्नेले पैसा कमाएको देखिए पनि अन्ततः लामो समय राम्रा कम्पनी होल्ड गर्न सक्नेले पैसा कमाउने बताउँछन्। ‘ह्विममा चल्ने हाइड्रो तथा फाइनान्स किन्नेहरुले गएको बुलमा पैसा कमाएको देखियो’, उनले भने, ‘तर, कुनै न कुनै कम्पनीमा गएर अन्ततः फसेकै हुन्छ।’

खासगरी अल्पकालमा चल्नेले पैसा कमाउन मुस्किल नै रहेको रानाभाटको तर्क छ। ‘कसै–कसैले सूचना लिएर त्यही सूचनाका आधारमा अल्पकालमा पैसा कमाएका भए फरक विषय भयो’, उनले भने, ‘होइन भने राम्रा कम्पनी छानेर दीर्घकालीन होल्ड गर्नेले नै पैसा कमाउने हो।’

घटेको समयमा सेयर किनेर लामो समयसम्म होल्ड गर्न सक्ने पनि बजारबाट कमाउने रानाभाटको भनाइ छ। ‘बजार बढेर एउटा विन्दुमा पुगेपछि सेयर बेचेर फेरि बजार पस्न केही समय कुर्न सक्नेले पनि  बजारमा कमाउन सक्छन्’, उनले भने।