– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजारमा महिला लगानीकर्ताको उपस्थित बढ्न थालेको छ। 

पछिल्लो समय नेपालको सेयर बजारमा भित्रिने लगानीकर्ताको संख्या निरन्तर बढिरहेको छ। प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच पुगेको जुनसुकै ठाउँबाट कारोबार गर्न सकिने भएकोले सेयर बजारमा भित्रिनेको संख्या बढ्दै गएको हो। 

पछिल्लो समय गाउँ–गाउँमा सेयर बजारका बारे बहस र कुराकानी हुने गरेको छ। १ हजार रुपैयाँबाट बजारमा लगानी सुरु गर्न सकिने भएकोले विशेषगरी गृहिणी र विद्यार्थीको आकर्षण बढ्दै गएको छ। जसअनुसार महिला लगानीकर्ताको उपस्थित पनि बढ्न थालेको छ। 

सीडीएससीका अनुसार सेयर बजारमा महिला लगानीकर्ताको सहभागिता बढ्न थालेको छ। सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने भन्छन्, ‘डिम्याट खोल्ने कुल संख्यामा ४३ प्रतिशत महिला छन्।’

सीडीएससीका अनुसार डिम्याट खाताको संख्या ५५ लाख र मेरो सेयर लिनेको संख्या पौने ४६ लाख पुगेको छ। ‘३५ वर्षसम्मको उमेर समूहका युवा लगानीकर्ताको उपस्थिति बढी देखिन्छ’, न्यौपानेले भने।  

विश्वमा सेयर बजारको सुरुआत करिब ६०० वर्ष पहिलेदेखि नै भए पनि नेपालमा भने २०३३ सालमा ‘सेक्युरिटिज खरिदबिक्री केन्द्र’ स्थापना भएपछि विराटनगर जुटमिल र नेपाल बैंकको पहिलो सेयर कारोबार भएको थियो। 

नेपाल स्टक एक्सचेन्ज(नेप्से) २०५० सालमा मात्र स्थापना भएको हो। २०३३ सालबाट नीति–नियम बन्दै कागजी आधारमा कारोबार हुँदै आएको बजारमा पछिल्लो २–३ वर्षदेखि डिजिटल रुपमा कारोबार हुँदै आएको छ। त्यसपछि भने आमसर्वसाधरणले पहिलेभन्दा सहज रुपमा सेयरको कारोबार गर्दै आएका छन्। 

विशेषगरी निफ्रा र नेपाल पुनर्बीमा कम्पनीको आईपीओ आएपछि धेरै मानिस सेयर बजारमा प्रवेश गर्ने लहर चलेको हो।