– प्रकाश न्यौपाने
काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। लगानी गर्नुपूर्व सेयर बजारबारे राम्रो अध्ययन गर्न जरुरी हुन्छ।
नेपालको सेयर बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउनेको संख्या धेरै छ। बजारमा लगानीकर्ताले कम्पनीहरुको विस्तृत जानकारी लिएरमात्र लगानी गर्नुपर्छ।
कारोबारमा आएका कम्पनीहरुमा राम्रा र कमजोर दुवै किसिमका हुन्छन्। बजारविज्ञहरु आधारभूत रुपमा किताबी मूल्य (बुक भ्यालु)को तीनगुणासम्मको सेयरभाउ भएका कम्पनीहरुमा लगानीका लागि उचित हुने सल्लाह दिन्छन्। तर, सेयर बजारमा वास्तविक अवस्था भने फरक पाइन्छ।
हिमालयन डिस्टिलरीको किताबी मूल्य १२२ रुपैयाँ छ भने सेयरमूल्य १९३२ रुपैयाँ छ। नागरिक लगानी कोषको किताबी मूल्य १९५ रुपैयाँ छ भने सेयरमूल्य २०४८ रुपैयाँ छ।
यसैगरी चन्द्रागिरी हिल्सको किताबी मूल्य १२५ रुपैयाँ छ भने सेयरमूल्य ११३५ रुपैयाँ छ। दिव्यश्वरी हाइड्रोपावर कम्पनीको किताबी मूल्य १२ रुपैयाँ छ भने सेयरमूल्य २२८ रुपैयाँ छ।
यी उदाहरणका रुपमा लिइएका कम्पनीहरुमात्रै हुन्। यस्ता कम्पनीहरु थुप्रै छन्।
लामो समयदेखि सेयर बजारमा सक्रिय रुपमा कारोबार गर्दै आएका विष्णु भुसाल आधारभूत पक्षभन्दा पनि लगानीकर्ताले सेयर संख्या र विगतमा कम्पनीले बनाएको उच्च मूल्यका आधारमा लगानी गर्ने गरेको बताउँछन्। ‘केही पुराना कम्पनीको विगतमा सेयर संख्या कम थियो, रिजर्भ पनि राम्रो थियो र लगानीकर्ताले त्यस्ता कम्पनीमा लगानी गरेर नाफा पनि कमाएका थिए’, उनले भने, ‘अहिले पनि तिनै कम्पनीमा लगानी गर्दा भने पहिलेजस्तो नाफा हुँदैन।’
विगतमा आकर्षक लाभांश दिएका केही कम्पनीबाट लगानीकर्ताले मनग्य कमाउन सफल भएको भुसाल बताउँछन्। ‘तर, लगातार आकर्षक बोनस सेयर दिँदै आएका त्यस्ता कम्पनीहरुको सेयर संख्या बढ्दै गएको छ र रिजर्भ भने घट्दै गएको छ’, उनले भने, ‘यी विषयमा लगानीकर्ताले ध्यान नदिई पहिलेको इतिहासमात्र हेरेर मात्र अहिले त्यस्ता कम्पनीहरुमा लगानी गर्नेहरु पछुताएको अवस्था छ।’
भुइँबाट धरहराको टुप्पोमा पुगिने महत्वकांक्षा राखेर त्यस्ता कम्पनीहरुमा लगानी गर्ने तर पछि धरहराको टुप्पोबाट भुइँमा खसेपछि मात्र लगानीकर्ताले थाहा पाउने गरेको भुसाल बताउँछन्।
अर्का पुराना लगानीकर्ता केशव देवकोटा पछिल्लो समय कम्पनीका आधारभूत पक्ष नगरी हल्लाका भरमा सेयर बजारमा लगानी गर्नेहरु धेरै रहेको बताउँछन्। ‘हल्लाको पछाडि लागेर कम्पनीले दिने प्रतिफललाई ध्यान नदिई लगानी गर्दा विगतमा पनि थुप्रै लगानीकर्ता उच्च विन्दुमा फसेका छन्’, उनले भने।
कम्पनीको सेयर संख्या र विगतको लाभांशलाई मात्र ध्यान दिएर उच्च सेयरमूल्य भएका र बुक भ्यालुको तुलनामा निकै जोखिम भएका कम्पनीहरुमा गरेको लगानी पाँचगुणासम्म घटेको उदाहरण थुप्रै रहेको देवकोटाले बताए। ‘बजारको राम्ररी अध्ययन गरेर लगानी गर्नेले मात्र राम्रो नाफा कमाउन सक्छ’, उनले भने, ‘नत्र भने चौटा खान जाँदा झोलमा डुबेझैँ हुन्छ।’
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago