काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका नेताहरुले आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पुँजीबजार विकास र सुधारका लागि विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन्।
पुँजीबजार सुधार सम्बन्धमा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा सभापति देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा पुँजीबजारको बृहत्तर विकासका लागि ७७ वटै जिल्लाका ७५३ वटा स्थानीय निकायसम्म सर्वसाधारणको सहज रुपमा सेयर खरिद–बिक्री गर्न पाउने संवैधानिक हक अधिकारलाई सुनिश्चित प्रदान गर्न आग्रह गरिएको छ। ‘करिब ५७ लाख लगानीकर्ताहरु सरकारप्रति पूर्ण आशावादी भई लगानी सुरक्षित छ भन्ने महसुस हुनेमा हामीले पूर्ण विश्वास लिएका छौँ’, विज्ञप्तिमा भनिएको छ।
ज्ञापनपत्रमा लगानीकर्ताहरुका प्रमुख ६ माग समेटिएका छन्।
लगानीकर्ताको प्रमुख मागका रुपमा रहेको खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
यसैगरी १२ करोड रुपैयाँसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरिएको छ। सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताहरुले माग गरेका छन्।
लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सोहीअनुरुप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन माग गरिएको छ।
तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन लगानीकर्ताहरुले माग गरेका छन्।
यी मागहरु क्रमशः सम्बोधन भई कार्यान्वयनमा ल्याउँदा शेयर वजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुन गई सरोकारवाला सबै पक्षको आयमा वृद्धि हुनुका साथै विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रका रुपमा यस पुँजीबजारलाई स्थापना गर्न सक्षम र सफल हुने ज्ञापनपत्रमा उल्लेख छ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago