काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं. २९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम करको स्पष्ट पारेको छ। 

आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रीलगायत सरकारका सचिवहरुबीच भएको छलफलपछि जारी सूचनामा यस्तो स्पष्ट पारिएको हो। अर्थद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि यो सूचना जारी गरिन्छ।’

यसअघि आन्तरिक राजश्व विभागले पुँजीगत लाभकरका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेको थिएन। कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो। 

आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका थिए। उनीहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म बजार सञ्चालन हुन नदिने भनेर आज बिहान सबै ब्रोकर हाउसमा तालाबन्दी पनि गरिदिएका थिए।