– अर्जुत तिमिल्सिना
काठमाण्डौ । गत जेठ १५ मा आएको आगामी आर्थिक वर्षको बजेटपछि अब लगानीकर्ताहरुको ध्यान मौद्रिक नीतितर्फ तानिएको छ।
त्यसो त पछिल्लो समय अर्थ मन्त्रालयभन्दा राष्ट्र बैंक र बजेटभन्दा बढी मौद्रिक नीतितर्फ लगानीकर्ताको ध्यान तोनिएको देखिन्छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागिसकेको छ। मौद्रिक नीति साउनको पहिलो सातासम्म आउन सक्ने बताइएको छ।
यसैबीच अहिले ब्रोकर हाउसमा लगानीकर्ता तथा ब्रोकरहरुबीच मौद्रिक नीति विषयमा चर्चा चल्न थालेको छ। श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५)मा भेटिएका लगानीकर्ता केशव निरौलाले राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव माग्ने भनेको औपचारिक विषयमात्रै रहेको बताए। ‘बजेटमा पनि सुझाव मागिन्छ तर मागिएको सुझावअनुसार न बजेट आउँछ न त मौद्रिक नीति नै आउँछ। यो त सबै देखाउने विषयमात्रै हो।’
प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२)मा भेटिएका लगानीकर्ताहरु पनि राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिको प्रतीक्षामा रहेको बताउँछन्। त्यहाँ भेटिएका अधिकांश लगानीकर्ता मौद्रिक नीति पुँजीबजारमैत्री आउनेमा ढुक्क देखिन्थे।
न्यु प्लाजास्थित क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०) मा भेटिएका लगानीकर्ता शीतल कोइरालाले भने मौद्रिक नीतिमा केही फरक मत प्रस्तुत गरे। राष्ट्र बैंकका एक सञ्चालकलाई उद्धृत गर्दै कोइरालाले भने, ‘राष्ट्र बैंकको बोर्ड बैठकमा गभर्नरले ब्रिफिङ गरेका छन्। हामीले मौद्रिक नीति बजेटलाई नै सपोर्ट हुने गरी ल्याउनुपर्ने भनेका छन्। बजेटमा मुद्रास्फीति ६ प्रतिशतभन्दा तल राख्नुपर्ने हुन्छ। त्यसो हुँदा बजारमा खोजिएजस्तो मौद्रिक नीति आउने सम्भावना कम छ।’
राष्ट्र बैंकका बोर्ड सञ्चालकहरुले पनि गभर्नरले भने जसरी नै अगाडि बढ्ने जानकारी गराएको आफूले सूचना पाएको कोइरालाले बताए। ‘मुद्रास्फीति नियन्त्रण गर्न बजारबाट पैसा तान्नैपर्छ’, उनले भने, ‘बजारबाट पैसा तान्ने काम राष्ट्र बैंकले गर्यो भने साउन–भदौमा फेरि ब्याजदर बढ्न सक्छ।’
उता भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) का सञ्चालक राजकुमार तिमिल्सिना भने मौद्रिक नीति बजारमैत्री नै आउनेमा ढुक्क देखिन्छन्। ‘मैले त मेरा ग्राहक सबैलाई सेयर किन्न भनेको छु। नपत्याए फ्लोरसिट हेर्नुहोस्’, उनले भने, ‘हामीले जसरी अरु १० वटा ब्रोकरले सेयर किनेको भए अहिलेसम्म बजार २५०० मा हुन्थ्यो। अब सबै सहज हुँदैछ। यो सेयर किन्ने नै बेला हो।’
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago