काठमाण्डौ । सेयर लगानीकर्ताहरुको ‘महासंघ’ असारको पहिलो साताभित्र घोषणा गर्ने निर्णय भएको छ।
लगानीकर्ता संघसंगठनका अध्यक्षहरुबीच मंगलबार काठमाण्डौमा भएको बैठकले सम्पूर्ण लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै आगामी साता लगानीकर्ताको महासंघ घोषणा गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकले मागेअनुसार नयाँ मौद्रिक नीतिका लागि पुँजीबजारका तर्फबाट यही साता एकीकृत सुझाव प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ। नयाँ बजेटमा ब्यवस्था भएको पुँजीबजारलाई आघात पार्ने प्रावधान सुधार गर्ने अर्थमन्त्रीबाट प्रतिबद्धता व्यक्त भएकोले सोहीअनुसार हुनेमा पूर्ण विश्वास ब्यक्त गर्ने लगानीकर्ताहरुका नेताहरुले जनाएका छन्।
नेप्सेको तत्काल पुनर्संरचनाका लागि नेप्सेका कर्मचारीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अर्थ मन्त्रालयमा नेप्से कर्मचारी र लगानीकर्ताको सयुक्त टोलीद्वारा पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।
कानुनी प्रक्रिया र सर्वोच्च अदालतको फैसलाअनुसार अगाडि बढेको ब्रोकर लाइसेन्ससमेत रोक्न अर्थ समितिले दिएको निर्देशनको वैधानिकता आफैँमा संकटमा परेकोले सो गल्तीलाई तत्कालैै अर्थ समितिको पूर्ण बैठकले सच्याउनुपर्ने निर्णय पनि बैठकले गरेको छ।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले असारको पहिलो साता महासंघ गठन प्रक्रिया अगाडि बढाउन एउटा तदर्थ समिति गठन गरिने जानकारी दिए। ‘त्यही समितिले महासंघ दर्ता गर्ने, विधान निर्माण गर्नेदेखि लिएर जिल्ला र प्रदेशस्तरमा समिति गठनको प्रक्रिया थाल्नेछ’, उनले भने।
महासंघको नेतृत्वमा भने हाललाई ४–५ जनाको नाम अगाडि आएको छ। जसमा नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, तिलक कोइराला, केशव कोइराला (काका), रोहन कार्की र सुवासचन्द्र भट्टराईको नाम चर्चामा रहेको छलफलमा सहभागी एक लगानीकर्ताहरुले बताए।
छलफलमा नपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको सहभागिता भने थिएन। ‘उहाँहरुलाई बोलाइएको थियो’, एक लगानीकर्ताका नेताले भने, ‘तारा फुल्लेल र राधा पोख्रेलले आउँछौँ भन्नुभएको थियो तर आउनुभएन।’
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago