काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७–७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ। 

एघारौँ राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आन्तरिक राजस्व विभाग तथा सोअन्तर्गतका कार्यालयहरुले आर्थिक वर्ष २०७७–७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पुर्याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ। 

सोही अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले कदरस्वरुप सम्मानपत्र प्राप्त गरेको हो। उक्त आर्थिक वर्ष २०७७–७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो। 

राष्ट्रिय कर दिवसका अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्रप्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलका तर्फबाट वित्त विभागका इन्चार्ज रोशन केसीले सो सम्मानपत्र ग्रहण गरेका हुन्। 

देश विकासका खर्चहरूका लागि करले महत्त्वपूर्ण भूमिका खेल्दछ। यसका साथै यसले सरकारलाई सार्वजनिक सेवाहरू गर्न र सरकारको कामलाई कायम राख्न मद्दत गर्दछ। 

नेपालमा आर्थिक वर्ष २०७७–७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुत वित्तीय तथा सेवा क्षेत्रमा कार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन्।

नेपाली पुँजीबजारमा सेवा क्षेत्रमा मर्चेन्ट बैंकरका रुपमा कार्य गरिरहेको प्रभु क्यापिटल सबैभन्दा बढी चुक्तापुँजी भएको मर्चेन्ट कम्पनी हो। जसले समयानुसारकोे प्रविधि अपनाई आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ। 

त्यस्तै नेपाली पुँजीबजारमा भिडियो केवाईसीमार्फत अनलाईन डिम्याट खाता इन्स्ट्यान्ट खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट कम्पनी हो।