►नारायण न्यौपाने 
काठमाण्डौ । नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम रु ३३ अर्ब छ करोड पुगेको छ । 

अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम रु ३० अर्ब ३४ करोड ६६ लाख थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब ७१ करोड वृद्धि भएको छ । सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी रु ३७ अर्बको हाराहारीमा यथार्थ मौज्दात पुगेको छ । 

लेखा परीक्षण गर्नुअघि गएको असार मसान्तसम्ममा उक्त कोषमा यथार्थ मौज्दात रु ३६ अर्ब ५३ करोड ९७ लाख ५५ हजार थियो । सैनिक कल्याणकारी कोषको रकम नेपाली सेनाको बहालवाला तथा भूपूको स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा बिमाजस्ता कल्याणकारी कार्यमा खर्च हुँदै आएको छ । 

कल्याणकारी कोषअन्तर्गत हाल आठ महाविद्यालय, मेडिकल र नर्सिङ कलेज सञ्चालनमा छन् भने पोलिटेक्निक इन्स्टिच्युट पनि सञ्चालनको तरखरमा रहेको छ । कोषबाट बहालवाला तथा भूपूको औषधोपचार, बिमा, आवास, निवृत्तिभरणलगायत शैक्षिक संस्था सञ्चालन गर्न वार्षिक रु दुई अर्ब ५० करोड खर्च हुने गरेको छ । आम्दानी भने वार्षिक रुपमा रु दुई अर्ब ७५ करोडको हाराहारीमा हुँदै आएको छ । 

सैनिक कल्याणकारी कोषको रकम ‘क’ वर्गका २९ वटा बैंक तथा वित्तीय संस्थानमा रहेको सहायकरथी गौरव तण्डुकले जानकारी दिए । नेपाली सेना शान्तिस्थापनार्थ कार्यका लागि संयुक्त राष्ट्रसंघमा सहभागी भएबापत प्राप्त करिब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएको थियो । 

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा संस्थामा रहेको रु ८२ करोड निक्षेपमध्ये अब साँवा रु २७ करोड ४९ लाख असुलउपर गर्न बाँकी रहेको बताइएको छ । शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमको ब्याज, विद्यार्थीको शुल्क, परिवार आवास भाडा, विदेशी मुद्रा सटही प्रिमियम, पेट्रोल पम्पबाट प्राप्त हुने सहयोग, वीरेन्द्र सैनिक र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त हुने शुल्क कोषको नियमित आयस्रोत हुन् । 

नेपाली सेनाले उक्त कोषबाट भूकम्पपीडित बहालवाला तथा भूपू गरी ४२ हजार ६२१ घरपरिवारलाई रु दुई अर्ब ४९ करोडभन्दा बढी राहत रकम वितरण गरेको थियो ।