काठमाण्डौ । धितोपत्र बोर्डले हचुवाको भरमा ५१ व्टा कम्पनीलाई ‘जोखिमयुक्त’ भन्दै सूची सार्वजनिक गरिदिएपछि बुधबारको बजारमा ती कम्पनीहरुमा प्यानिक सेल देखिएको छ । 

धितोपत्र बोर्डले गहिरो अध्ययन नगरी ५१ वटा कम्पनीलाई ‘लगानीका लागि जोखिमयुक्त’ भनिदिएपछि यसको मार भने सोझा लगानीकर्तालाई परेको छ । 

बोर्डको विज्ञप्तिका कारण सूचीमा परेका ५१ कम्पनीमध्ये ४७ वटाको मूल्यमा भारी गिरावट आएको छ । एक कम्पनी घोडाघोडी लघुवित्त मर्जर प्रक्रियामा रहेका कारण कारोबारमा छैन भने अन्य ३ कम्पनीको सेयरमूल्य भने बढेको छ। 

बुधबार बजारमा बोर्डले जोखियमुक्त भनिएकाबाहेकका कम्पनीको मूल्यमा समेत पहिरो गएको छ । जसका कारण लगानीकर्ताले एकै दिन १ खर्ब ८१ अर्ब ७७ करोड सम्पत्ति गुमाएका छन् । सर्वसाधारणको हित गर्न भन्दै बोर्डले सार्वजनिक गरेको एउटा विज्ञप्तिले तिनै सोझा र सर्वसाधारणको १ खर्ब ८१ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी सम्पत्ति ४ घण्टामै स्वाहा भएको छ । 

बुधबार माइक्रोफाइनान्स उपसमूहबाहेक सबैमा रातो पोतिएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७ प्रतिशतको हाराहारीमा घटेको छ । होटल तथा टुरिजम समूहको उपसूचकमा ५.प्रतिशत, हाइड्रोमा ४.७४ प्रतिशत, विकास बैंकमा ४.०४ प्रतिशतको पहिरो गएको छ । 

बोर्डले चलखेल भएको भन्दै ५१ वटा कम्पनीलाई मात्र जोखिमयुक्त भने पनि अपरिपक्व कदमको प्रभाव अन्य कम्पनीमा समेत देखिएको छ । बोर्डको सूचीमा एउटा पनि वाणिज्य बैंक परेका छैनन् । तर, बुधबार वाणिज्य बैंककै लगानीकर्ताले पनि गुमाएका छन् । यो उपसमूहको उपसूचक ९.४६ अंकले घटेको छ । 

बुधबार कारोबारमा आएका २१९ कम्पनीमध्ये ५० वटाको मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको मूल्य घटेको छ ।बोर्डले ५१ व्टा कम्पनीको मूल्य घटाउन गरेका टार्गेटको नकारात्मक प्रभावका कारण अन्य कम्पनीहरुमा समेत प्यानिक सेल देखिएको छ । 

यसरी बोर्डले विचारै नगरी चालेको एउटा कदमका कारण सोझा र नयाँ लगानीकर्ताको अरबौं रुपैयाँ स्वाहा भएको छ । सोझा लगानीकर्ताको लगानी संरक्षणका लागि बोर्डबाट चालिएको कदमबाटै उनीहरुको सम्पत्ति स्वाहा भएपछि बजारमा प्रश्न उठेको छ–‘बजारको नियामक बोर्ड कसको पक्षपोषण गरिरहेको छ ?’