काठमाण्डौ । निजी क्षेत्रबाट बन्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रुपमा सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोशी जलविद्युत आयोजना निर्माणको सम्झौता भएको छ । 

नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘कन्सोर्टिएम आयोजना’को रुपमा देशका १० बैंकको सहयोगमा शाहस उर्जा लिमीटेडले यो आयोजना निर्माण गर्न लागेको हो । 

हाइड्रो भेञ्चर प्रालिको प्रवद्र्धनमा बन्ने यो आयोजनामा ऋण लगानी सम्बन्धी सम्झौता सम्बन्धित बैंकहरुसँग बिहीबार साँझ सम्पन्न भएको छ । 

यो कन्सोर्टिएम आयोजनामा बैंकहरुको तर्फबाट ऋण लगानीको नेतृत्व नेपाल इन्भेष्टमेन्ट बैंकले गर्दैछ । जलविद्युत विकास कम्पनीसँग मिलेर १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गर्नेछन् । 

आयोजना निर्माणकर्ता कम्पनी शाहस उर्जा लिमीटेड र बैंकहरुबीच आयोजना निर्माणको बिषयमा भएको सम्झौता अनुसार सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा ९ वाणिज्य र एक विकास बैंक तथा जलविद्युत विकास कम्पनीले ऋण लगानी गर्नेछन् । 

यो कन्सोर्टिएम आयोजनामा बैंकहरुको तर्फबाट ऋण लगानीको नेतृत्व नेपाल इन्भेष्टमेन्ट बैंकले गर्दैछ । जलविद्युत विकास कम्पनीसँग मिलेर १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गर्नेछन् । 

यो जलविद्युत आयोजनामा इन्भेष्टमेन्ट बैंक बाहेक कृषि विकास, राष्ट्रिय बाणिज्य, सानिमा, सेञ्चुरी कमर्सियल, एनसीसी, प्रभु, सिभिल, सनराइज र एनएमबी बैंकले लगानी गर्नेछन् । एनआईडिसी डेभलपमेन्ट बैंकले पनि लगानी गर्नेछ । 

लागत संरचना अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक एक्लैले डेढ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ । जलविद्युत लगानी तथा विकास कम्पनीले १ अर्ब र बाँकी लगानी अन्य बैंकहरुले मिलेर गर्नेछन् । 

यो आयोजनाको कूल लागत ११ अर्ब ८६ करोड रुपैयाँ रहेको र  बैंक ऋणबाट अपुग भएको लगानी प्रवद्र्धकले व्यवस्थापन गर्नेछन् । 

यो आयोजनाको निर्माण कार्य आगामी हिउँदबाट सुरु गरी ४ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको जलविद्युत लगानी तथा विकास कम्पनीका प्रबन्ध संचालक हिम पाठकले बिजशालालाई जानकारी दिए । उनका अनुसार यो परियोजना अहिलेसम्मको निजी क्षेत्रबाट बन्न लागेको नेपालकै ठूलै आयोजना हो । 
कन्सोर्टियम लगानीको हिसाबले समेत यो आयोजना ठूलो र नौलो हो । 

निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको देशकै ठूलो यो आयोजनाले निकट भविष्यमै अपुग लगानी जुटाउने उद्देश्यले सर्वसधारण र स्थानीयलाई समेत सेयर निश्कासन गर्ने बताइएको छ । 

परियोजनाबाट उत्पादित बिद्युत लामानेस्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेसनमा जडान गरी सोलु करिडोर प्रशारण लाइनमा जोडिने र प्रशारण लाईन नेपाल बिद्युत प्राधिकरणले निर्माण गर्ने सम्झौता समेत भइसकेको छ ।

सोलु र दुधकोशी नदीको संगममा बन्न लागेको परियोजनाबाट उत्पादित विद्युत खरीदका लागि गत वर्षनै नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुसार यहाँको विजुलीले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा मूल्य पाउनेछ ।