काठमाण्डौ । सञ्चार तथा सुचनाप्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताएका छन्। 

राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउन्डेसन र युनिग्लोब कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कोभिड—१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र बैदेशिक रोजगारीलाई ब्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिए। आर्थिक समृद्धीका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवसर रहेको बताइन्। उनले युवाहरुमा सोच, संकल्प, निरन्तरता र ब्यावसायिक रणनीति हुनुपर्नेमा जोड दिइन्। उद्यमीमैत्री वातावरणका लागि सरकारले नेतृत्व लिनुपर्ने उनको भनाइ छ। 

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी पवन गोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे। 

कार्यक्रमका बिभिन्न सेसनहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, उद्यमी महिला महासंघका अध्यक्ष रिता सिंह, बिजनेश अक्सिजनका अध्यक्ष सिद्रान्तराज पाण्डे, सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका नवराज पुडासैनी, महिला उद्यमी डा. सुमित्रा गुरुङ् मानन्धर, युनिग्लोब कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्ट, प्राडा राधेस्याम प्रधानलगायतले युवा उद्यमशीलताका चुनौती र अवशरबारे मन्तव्य राखेका थिए। 

विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निशुल्क तालिम र सहुलियतकर्जा प्रदान गर्ने बताए। सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमतिअनुसार बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउन्डेसननले संयुक्त रुपमा सञ्चालन गरेको नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रमको प्रवद्र्धनका लागि युनिग्लोब कलेजमा कार्यक्रम आयोजना गरिएको थियो ।  

२०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को www.startupideacall.org वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिनेछ।