काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको हो। बैठकले वार्षिक साधारणसभा असार ५ गते काठमाण्डौको कमलादीस्थित कम्पनीको पुरानो भवनमा आयोजना गर्ने निर्णय गरेको छ। 

यसअघि कम्पनीले आफ्नो वार्षिक साधारणसभा गत वर्ष चैत २१ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर बीच कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका सरकारले चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेपछि कम्पनीले वार्षिक साधारणसभा स्थगित गरेको थियो।

सभाले कम्पनीले गत आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्ताव कुल लाभांश ७.८९ प्रतिशत पारित गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५३ रुपैयाँको ५ प्रतिशतले हुन आउने ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँबराबरको बोनस सेयर र २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँबराबरको नगद लाभांश रहेको छ। 

सभाले बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रसताव पनि पारित गर्नेछ।