काठमाण्डो । श्वेत-गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले सोमबार आईपीओ बाँडफाँड गरेको हो। 

कम्पनीले गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँबाट आयोजना प्रभावित र सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशतमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १५ लाख ९३ हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको थियो। जसमा आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता जारी गरिएको छ। 

यी क्षेत्रका स्थानीयलाई १० कित्तादेखि २०० कित्तासम्म आवेदन दिनेहरुलाई मागअनुसार नै सेयर बाँडफाँड गरिएको छ। जसअनुसार ४ हजार ४६२ आवेदकलाई ४ लाख ८८ हजार ४२० कित्ता सेयर पाएका छन्।

यिनै क्षेत्रबाट २१० देखि १० हजार कित्ताका लागि आवेदन दिनेहरुले १० कित्ताका दरले सेयर पाएका छन्। जसअनुसार २ हजार ७४८ आवेदकले २७ हजार ४८० कित्ता पाएका छन्।

यसैगरी आयोजना प्रसारण लाइन पर्ने रामेछापको लिखु तामाकोशी गापा वडा नं. ५, ६ र ७ र मन्थली नपा वडा नं. ११, १२ र १३ तथा रामेछाप नपा वडा नं. १ र ३ जम्मा निष्कासन गरिने सेयरको २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता छुट्याइको थियो।

क्यापिटलका अनुसार यी क्षेत्रका १० कित्तादेखि ५० कित्तासम्म आवेदन दिनेहरुले मागअनुसार नै सेयर पाएका छन्। जसअनुसार ३ हजार ८ आवेदकलाई १ लाख २४ हजार ४०० कित्ता बाँडफाँड गरिउको छ। 

त्यस्तै ६० कित्तादेखि ५ हजार २०० कित्ता सेयर माग गर्ने आवेदकहरुलाई ५० कित्ताका दरले सेयर वितरण गरिएको छ। जसअनुसार ४ हजार ८०० आवेदकलाई २ लाख ४० हजार कित्ता बाँडफाँड गरिएको छ। ६० कित्तादेखि ५ हजार २०० आवेदन दिनेमध्ये थप ३ हजार ३८५ जनालाई भने १० कित्ताका दरले सेयर वितरण गरिएको क्यापिटलले जनाएको छ। 

यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. १ र ओखलढुंगाको लिखु गापा वडा नं. १, २ र ३ लाई जम्मा निष्कासन गरिने सेयरको ५ प्रतिशत हुने अर्थात ७९ हजार ६५० कित्ता सेयर बिक्री खुला गरिएको थियो।

यी क्षेत्रका स्थानीयलाई भने १० कित्ता ४० कित्तासम्म आवेदन दिने १३२ जनालाई मागबमोजिम २ हजार ८९० कित्ता बाँडफाँड गरिएको छ। ५० कित्तादेखि १० हजार कित्तासम्म सेयर माग गर्नेहरुमध्ये १ हजार ८०४ आवेदकलाई ४० कित्ताका दरले ७२ हजार १६० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

यिनै क्षेत्रबाट ५० कित्तादेखि १० हजार कित्ता सेयर माग गर्नेहरुमध्ये ४६० जनालाई भने १० कित्ताका दरले ४ हजार ६०० रुपैयाँ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।