काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म स्थानीयले आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकका लागि आवेदन दिने व्यवस्था भने माघ १८ गतेसम्म तोकिएको थियो। 

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ स्थानीय आयोजना प्रभावित बिक्री खुला गरेको छ। जसमा आयोजनाबाट अतिप्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फत्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिवाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने नेपाली नागरिकलाई ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ५०० कित्ता आईपीओ जारी गरिएको छ। 

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

स्थानीयले ताप्लेजुङको फुङलिङस्थित सानिमा बैंक तथा लक्ष्मी बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।