काठमाण्डौ । सर्वोच्च अदालतमा विचाराधीन रहेको लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनका लागि आवेदन दिने मिति थप भएको छ । 

गत जेठ १५ गते खुलेको नौहजार बढी कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापनको आवेदन दिने मंगलबार अन्तिम म्याद भनिएको थियो । 

लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा अनलाइन फारम भर्न खोज्ने हजारौँ आवेदकहरु समस्यामा परेका थिए । आज अन्तिम दिन भइसक्दा पनि सर्भरमा देखिएको समस्या आयोगले समाधान नगर्दा हजारौँ आवेदक मर्कामा परेका हुन् । अनलाइन फारम भर्न आयोगले तोकेको वेब पेजमा विगत तीन दिनदेखि समस्या देखिएको र यो विषय जानकारीमा आएको भन्दै आयोगले असार १० गतेसम्म अनलाइन आवेदन दिन सकिने जनाएको हो । 

दोब्बर दस्तुर तिरेर इच्छुकले असार १७ गतेसम्म दरखास्त दाखिला गर्नसक्ने समेत आयोगले एक सूचना प्रकाशन गरी जनाएको छ । 

यसअघि चाहि दोब्बर दस्तुर तिरेर असार १० गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । 

अन्तिम समयमा आएर एकैपटक धेरैले अनलाइन फाराम भर्न थालेपछि सर्भरमा समस्या देखिएको लोकसेवाका अधिकारीहरु बताउँछन् । एकैपटक ६० हजारभन्दा बढीले लगइन गरिरहेकोले सर्भरको क्षमता दोब्बर बनाउँदा पनि समस्या हल नभएको र आवेदनको म्याद थप्नु परेको अधिकारीहरुले बताएका छन् । 

आयोगका अनुसार प्रतिमिनेट एक सयजनासम्मले अनलाइन फारम भरिरहेका छन् । समस्या सुल्झाउन प्रयास भइरहेको आयोगले जनाएको छ ।