काठमाण्डौ । ‘स्पुतनिक भी’ भ्याक्सिनको दुई डोज फाइजरको तुलनामा ओमिक्रोन संक्रमणविरुद्ध दुईगुणाले एन्टीबडी विकास गर्ने खुलासा भएको छ। 

एउटा अध्ययनले यस्तो खुलासा गरेको हो। स्पुतनिक भ्याक्सिनको दुई डोज फाइजर भ्याक्सिनको तुलनामा भाइरसलाई दुईगुणाले बढीले बेअसर गर्ने अध्ययनले देखाएको छ। 

गामालेया नेसनल रिसर्च सेन्टर अफ एपिडिमियोलोजी र माइक्रोबायोलोजी तथा द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले बिहीबार उक्त अध्ययनबारे जानकारी गराएको हो। यो अध्ययन इटालियन स्प्यालानजानी इन्स्टिच्युटमा भ्याक्सिन लगाएका ती व्यक्तिहरुमाथि गरिएको थियो, जसले स्पुतनिक भी र फाइजरको खोप लगाएका थिए। 

हाई साइन्टिफिक डेटाले स्पुतनिक भी भ्याक्सिन अन्य भ्याक्सिनको तुलनामा ओमिक्रोन संक्रमणलाई निष्क्रिय पार्न निकै प्रभावकारी देखिएको देखाएको छ। ‘यो भ्याक्सिनले ओमिक्रोनविरुद्धको वैश्विक लडाइँमा प्रमुख भूमिका निभाउनेछ’, अध्ययन प्रतिवेदनमा भनिएको छ। 

अध्ययनको निष्कर्षप्रति जोड दिँदै गामालेया सेन्टर र आरडीआईएफका अनुसार ‘मिक्स एन्ड म्याच’ को हिस्साका रुपमा स्पुतनिक लाइटका साथ बुस्टिङले ओमिक्रोनविरुद्ध एमआरएनए भ्याक्सिनले कम असरका साथ छिट्टै लड्न मद्दत गर्न सक्छ। एडेनोवायरल र एमआरएन भ्याक्सिनबीच पार्टनरसिप ओमिक्रान र अन्य भेरिएन्टविरुद्ध मजबुत सुरक्षा प्रदान गर्न सक्ने आरडीआईएफको भनाइ छ। 

स्पुतनिक लाइट अन्य भ्याक्सिनको प्रभावशीलता बढाउन र बुस्टर प्रोटेक्सन अवधि बढाउन सबैभन्दा राम्रो उपाय हुने अध्ययनको निष्कर्ष रहेको छ। 

इटालीमा गरिएको अध्ययनले स्पुतनिक भी ओमिक्रोनविरुद्ध सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्न सकिने देखाएको छ। एडेनोवायरल प्लेटफर्मले पहिले पनि कोभिडको म्युटेसनविरुद्ध निकै असरदार देखिएको थियो। स्पुतनिक भी भ्याक्सिन गामालेया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी तथा आरडीआईएफद्वारा विकसित गरिएको हो। – एजेन्सी