काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्ट स्विचमार्फत क्यूआर अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीज्य, एससीटी तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवं मिडिया तथा सञ्चारकर्मीको उपस्थिति थियो। 

एससीटी तथा एनसीएचएलबीचको यो सम्झौतालाई क्यूआर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगाका रुपमा लिइएको छ। यसले क्यूआरसम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ। 

उक्त सम्झौतापश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाइल बैंकिङ वा वालेटका ग्राहकले नेपालपे क्यूआरका मर्चेन्टहरुलाई क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। 

त्यसैगरी नेपालपे क्यूआर उपलब्ध रहेका मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएसका प्रयोगकर्ताले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन्। यसरी ग्राहकलाई दुवै नेटवर्कभित्रका क्यूआरसम्बन्धी भुक्तानी गर्न सहज हुनेछ भने बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन। 

हाल नेपालपे क्यूआरमा ७० हजारभन्दा बढी र स्मार्ट क्यूआरमा १ लाख ६० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध रहेका छन्।

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमका रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ। 

नेसनल पेमेन्ट स्विचका निम्ती हालसम्म ५७ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन्।

विगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै आएको एससीटीले एससीटी यूपीआई कार्ड, स्मार्ट क्यूआर, फास्ट बैंकिङ, एससीटी एनपेलगायतका भुक्तानी सुविधा प्रदान गर्दै आएको छ। एससीटीले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा भुक्तानी सेवा प्रदायकलगायत विभिन्न संस्थालाई भुक्तानीसम्बन्धी विभिन्न माध्यमहरु प्रादान गर्दै आएको छ।