काठमाण्डौ । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ ।

यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई । राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन् गुप्ता ।

मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका गुप्ताले २०४७ असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुप्ताको वैध आय रु चार करोड ५४ लाख ७२ हजार २४६ रहेको छ । तर आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति रु १४ करोड ८१ लाख ८९ हजार २३ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति रु १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।

आयोगले गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पुर्याउने निरजकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरेर गुप्ताले पेट्रोल पम्प, पसललगायतमा लगानी गरेको पाइएको छ ।