काठमाण्डौ । यसपटकको स्थानीय निकाय निर्वाचनमा फरक दृश्यहरु देखिइरहेका छन् । केही महत्वपूर्ण ठाउँमा दलहरुको निर्णयलाई चुनौति दिएर उम्मेद्वारी दिनेहरुलाई मतदाताले साथ दिएको प्रारम्भिक मतपरिणामहरुले देखाएका छन् । 

दलहरुले विभिन्न स्वार्थबाट प्रेरित भई गर्ने निर्णयहरु ठीक नहुँदा त्यसको असर सम्बन्धित दलहरुलाई नै परेको छ भने जनताले भने केही नयाँ गर्न चाहनेहरुलाई मन पराएर भोट दिने र परिवर्तनको चाहनालाई मूर्त रुप दिने अवसर पाएका छन् । 

पार्टीका उम्मेद्वार छनौट गर्दा दलहरुले हेरेको नातावाद, कृपावाद, परिवारवाद जस्ता पुरानै रोगबाट मतदाता तथा कार्यकर्ता समेत आजित हुन थालेका मतपरिणामहरुले देखाएका छन् । हिजोको जस्तो दलहरुले गर्ने जस्तोसुकै निर्णयमा मतदाताले आँखा चिम्लिएर समर्थन जनाइदिन्छन् भन्ने अवस्थाको विस्तारै अन्त हुन थालेको समेत मत परिणामका प्रारम्भिक रुझानहरुले देखाएका छन् । 

मतदाताहरुले यो निर्वाचनमा नातावादबाट प्रभावित भई जन्मिएका निर्णयहरुमाथि खुलेरै प्रहार गरेका छन् । यसका लागि भरतपुर, काठमाण्डौ लगायतका महानगरको मतपरिणाम हेर्दा काफी हुन्छ । 

यस्तै, आसेपासेलाई जसरी पनि टिकट दिनैपर्ने सोंचबाट ग्रस्त भई योग्यलाई पछार्न खोज्ने केन्द्रीय नेताका कतिपय निर्णयहरुलाई समेत मतदाताले चुनौति दिएका छन् । 

जनकपुर, धुलिखेल, बर्दिबास जस्ता क्षेत्रहरुको प्रारम्भिक मतपरिणामले समेत केन्द्रीय भागबण्डामा आँखा चिम्लिएर तल्लो तहका कार्यकर्ताले साथ दिन छाडे भन्ने पनि देखिन्छ । 

अर्कोतर्फ काठमाण्डौ महानगरको ताजा परिणामलाई हेर्ने हो भने मेयरका उम्मेद्वार बालेन शाहले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

उनका पछाडि परिवर्तन चाहने युवाहरुको ठूलो जमात देखिएको छ । एमाले, कांग्रेसजस्ता विरासत थामेर बसेका दलहरुले त्यही युवाशक्तिलाई नजरअन्दाज गरे र यसकै कारण युवाहरुले बालेनलाई अगाडि सारे । 

विश्लेषकहरुले यदि बालेन साहको सुरुवाती अग्रता कायमै भएर जित हासिल गरेमा उनको जित नेपाली राजनीतिमा ‘ट्रेन्ड सेटर’ नै बन्ने दाबी गरिरहेका छन् । 

राजनीतिका विभिन्न अवसरमा समेत युवाहरुलाई पाखा लगाउने, युवाहरुको राजनीतिक तथा व्यवस्थापकीय क्षमतामा प्रश्न उठाउनेहरुलाई बालेन लगायतका स्वतन्त्र उम्मेद्वारहरुको जितले गतिलै झापड हान्ने देखिन्छ । 

अर्कोतर्फ, कतिपय क्षेत्रमा दलबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएकाहरुले लिइरहेको अग्रतालाई राजनीतिक रुपमा विश्लेषण गर्दा गठबन्धनविरुद्धका सुनियोजित घात वा अन्तर्घातको रुपमा पनि लिन सकिएला । विशेषतः गठबन्धन बनाउँदा कांग्रेस उम्मेद्वार प्रमुख पदमा उठेका क्षेत्रमा गठबन्धनका अन्य दल वा तिनका भोटरले इमानदारिताका साथ मत हालेका, तर कांग्रेसले प्रमुख नपाएको कतिपय ठाउँमा कांग्रेस समर्थित भोटरले बेइमानी गरेको रुपमा समेत कतिपयले दलका बागी उम्मेद्वारले मतगणनामा लिइरहेको अग्रतालाई विश्लेषण गरिरहेका छन् ।