काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि एफएपीओ निष्कासन गर्ने भएको छ।

एक महिना अघिमात्रै आईपीओ निष्कासन गरी दोस्रो बजारमा सेयर कारोबार खुल्नुअगावै समाज लघुवित्तले स्वस्तिक लघुवित्तसँग मर्जरमा जान प्रक्रिया थालेको छ। 

मर्जर सम्झौता गरेकै कारण यो लघुवित्तको तत्काल दोस्रो बजारमा सेयर कारोबारमा आउने छैन। यद्यपि आज बिहीबार भने यो लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकरण सम्झौता  हुँदैछ। 

स्वस्तिक लघुवित्तसँग मर्ज भएपछि यही आर्थिक वर्षभित्र एफपीओ निष्कासन गर्ने तयारी भइरहेको समाज लघुवित्तका वरिष्ठ प्रबन्धक रोशन गुरुङले जानकारी दिए। समाजको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको र स्वस्तिकको करिब साढे २ करोड रुपैयाँ रहेको छ। स्वस्तिक लघुवित्तले हालसम्म आईपीओ निष्कासन गरेको छैन। 

नेपाल राष्ट्र बैंकको नीतिअनुरुप संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० बनाउन एफपीओ निष्कासन हुने गुरुङको भनाइ छ। दुवै संस्थाको चुक्ता पुँजी जोडी चुक्ता पुँजीको १८ प्रतिशत हाराहारी सेयर एफपीओ निष्कासन हुने उनले बताए। 

आगामी पुस मसान्तभित्र मर्जर प्रक्रिया टुंग्याएर माघ १ गतेदेखि नै एकीकृत कारोबार गर्ने गुरुङको भनाइ छ। दुई लघुवित्तबीच मर्जर हुँदा स्वाप रेसियो भने डीडीएअनुसार नै तोकिने उनले बताए। 

एकीकृत कारोबारपछि स्वस्तिक समाज लुघवित्तका नाममा एफपीओ निष्कासन गर्ने गुरुङले जानकारी दिए। मर्जरपछि संस्थाको नाम स्वस्तिक समाज लघुवित्त हुने र केन्द्रीय कार्यालय महोत्तरीको बर्दिबासमा हुने बताइएको छ।