काठमाण्डौ । भारतको विदेशी मुद्रा सञ्चिति एक साताकै अवधिमा ३.८४७ अर्ब डलरले घटेर गत अक्टोबर २१ मा ५२४.५२ अर्ब डलरमा झरेको छ। 

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) द्वारा शुक्रबार जारी तथ्यांकबाट यस्तो जानकारी प्राप्त भएको हो। अघिल्लो साता भारतको विदेशी विनिमय सञ्चिति ४ अर्ब ५० करोड डलरले घटेर ५ खर्ब २८ अर्ब ३७ करोड डलरमा खुम्चिएको थियो। केही महिनायता भारतको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको छ। 

गत वर्ष अक्टोबर २०२१ मा भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च ६४५ अर्ब डलर पुगेको थियो। भारतको मुद्रा सञ्चिति घट्नुको मुख्य कारण मुद्राको भाउ घट्न नदिन केन्द्रीय बैंकले मुद्रा सञ्चितिबाट सहयोग लिइरहनु नै रहेको अर्थविद्हरु बताउँछन्। 

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको साप्ताहिक तथ्यांकअनुसार सञ्चितिको महत्वपूर्ण अंश मानिने विदेशी मुद्रा सम्पत्ति अक्टोबर २१ मा ३ अर्ब ५९३ करोड डलरले घटेर ४६५.०७५ अर्ब डलर पुगेको छ। तथ्यांकअनुसार मूल्यका हिसाबले भारतको सुनको भण्डार २४ करोड ७० लाख डलरले घटेर ३७ हजार २०६ अर्ब डलर पुगेको छ। विशेष आहरण अधिकार (एसडीआर) ७ मिलियन डलरले बढेर १७ अर्ब ४४ करोड डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ।

समीक्षा अवधिमा डलरको तुलनामा भारतीय रुपैयाँ ८३.२९ को कीर्तिमानी न्यून विन्दुमा झरेको छ। स्वदेशी मुद्राको अवमूल्यन कम गर्न आरबीआईले डलर बेच्नु परिरहेको छ। 

भारतको विदेशी मुद्रा सञ्चिति विगत १२ सातामध्ये ११ वटामा घटिरहेको छ। अक्टोबर ७ मा भने विदेशी मुद्रा सञ्चितिमा उछाल आएको थियो। सुनको सञ्चितिमा भएको वृद्धिका कारण त्यो साता विदेशी मुद्रा सञ्चिति २०४ मिलियन डलरले बढेको थियो। –एजेन्सी