काठमाण्डौ । प्रख्यात गायक स्वप्निल शर्माको गीत‘मौन’टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ ।

दन्गाली समुदायका थारुहरुको थारु भाषामा रहेको ‘मौन’गीतमार्फत शर्माले दुई सुन्न तथा बोल्न नसक्ने प्रेमीहरुको कथा बताएका छन् । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केही प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्सको सिजन २ शुरु भएको छ ।

टुबोर्ग ओपन सेसन्स् २ मा शर्माले आफ्नो जादु स्वरको साथमा उनको यस प्रिय रचनालाई प्रस्तुत गरेका छन् ।सधैँ आफ्नो रचनाहरु विभिन्न नेपाली भाषाहरु मिलाई प्रस्तुत गर्न चाहने स्वप्निलले ‘मौन’को लागि थारु भाषा छानेका छन् । नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आईरहेका थारु समुदाय, अभिनव संस्कृति र परम्परा भएको देशको पुराना र ठुला समुदायहरु मध्ये एक हो । शर्माले नै ‘मौन’को लागि मौलिक शब्दहरु लेखेका थिए भने, रामजी कुशमियाले थारु भाषामा अनुवाद गरेका हुन् ।


नेपाली संगीतबजारमा परिचित गायक स्वप्निल शर्मा हालै आफ्नो व्यवसायमा पनि सक्रिय छन् । उनलाई प्रायः लोकप्रिय रक ब्याण्ड ‘दि स्याडोज्’को भोकलिस्टको रुपमा चिनिन्छ । नेपाली रक संगीतमा उनलाई एक सफल उदाहरणको रुपमा धेरै दर्शक र नयाँ कलाकारहरुले लिने गर्दछन् ।


टुबोर्ग ओपन सेसन्स्को सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकप्रिय गीतहरु मौलिकभन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा‘च्यानल आरबिट्ररी’मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतिहरुले १० मिलियनभन्दा बढी भ्युज संकलनगर्न सफल भएको थियो ।