काठमाण्डौ । बजेट बनाउँदा अनधिकृत व्यक्तिको प्रभावमा परेर कर तथा भन्सारका दरहरुमा जथाभावी गरेको गम्भीर आरोप लागेपछि अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि कांग्रेसका युवा नेताहरुले आगामी अर्थमन्त्रीका लागि लविङ सुरु गरेका छन् । 

युवा नेताहरुले पार्टीभित्र गठबन्धनको दोश्रो ठूलो दल माओवादीलाई अब अर्थमन्त्रालय जिम्मा लगाउन नहुने तर्क गर्दै संकटमा परेका देशलाई उद्धार गर्ने र आर्थिक संकटबाट माथि उठाउने क्षमता भएको अर्थशास्त्रीको नाम अगाडि सार्दै नयाँ अर्थमन्त्रीका लागि लविङ सुरु गरेका हुन् । 

अर्थमन्त्रीबाट जनार्दन शर्माको राजीनामा लगत्तै कांग्रेसका केही केन्द्रीय सदस्यहरुले आगामी अर्थमन्त्रीको रुपमा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई ल्याउनुपर्ने भन्दै दवाब सिर्जना गर्ने अभियान थालेका हुन् । अर्थशास्त्री वाग्ले वाग्ले हाल विश्व बैङ्कको परामर्शदाताका रूपमा काम गरिरहेका छन् । 

योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई अर्थमन्त्री बनाउँदा उपयुक्त हुने भन्दै आयोगकै अर्का पूर्व उपाध्यक्ष तथा हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले ट्वीटरमार्फत आग्रह गरेका छन् । ट्वीटरमा उनले लेखेका छन्–‘देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनवाट बचाउन र दरिलो आर्थिक सुधार गरि समुन्नत देश बनाई राजनीतिक स्थीरता कायम गर्दै युवाहरुलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागि स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔ।’

कांग्रेसकै अर्का युवा नेता तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि फेसबुकमा स्टाटस पोस्ट गर्दै स्वर्णिम वाग्लेलाई आगामी अर्थमन्त्री बनाउनुपर्नेमा जोड दिएका छन् । उनी कांग्रेस महामन्त्री गगन थापा निकट नेता हुन् । यसकारण समेत शर्माको राजीनामा लगत्तै शिवाकोटीले लेखेको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शिवाकोटीले लेखेका छन्–‘कांग्रेस सांसदमध्येबाट अर्थमन्त्री बनाउने हो, अहिलेको संकट टार्नसक्ने ऑंट र क्षमता भएका खोज्दा राम्रो, सांसद बाहिरबाट ल्याउने हो भने स्वर्णीम वाग्ले नै उपयुक्त पात्र हुन्।’

स्रोतहरुका अनुसार विगत केही सातादेखि कांग्रेस महामन्त्री गगन थापा समेत शर्माले पद छाड्नुपर्ने र अर्थमन्त्रालय कांग्रेसले लिएर उपयुक्त पात्र पठाउनुपर्ने लविङ गरिरहेका छन् । थापा समेत स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने पक्षमा रहेका उनी निकटका नेताहरु दाबी गर्छन् । 

स्वर्णिम वाग्लेको नाममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उनी निकटका केन्द्रीय सदस्य तथा नेताहरु समेत सहमत हुने दाबी गरिएको छ । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेताहरु भने अर्थतन्त्र संकटमा फसेको बेला फेरि एकपटक अर्थमन्त्रीको रुपमा डा. रामशरण महतलाई ल्याउनुपर्ने लविङमा छन् । तर, स्वयम् प्रधानमन्त्री देउवा भने ५ दलीय गठबन्धन नटुटाउने उद्देश्यले अर्थमन्त्रालय माओवादीलाई दिने र प्रचण्डसँग भएको सहमतिअनुसार संसदीय छानबिनपछि जनार्दन शर्मालाई नै अर्थमन्त्रीको रुपमा ल्याउने बाध्यतामा छन् ।