– रेखा चन्द

काठमाण्डौ । पुँजीबजार सुधार र विकासका १९ बुँदे माग राख्दै आमरण अनशनमा बसेका तिलक कोइरालालाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज अस्पताल लगिएको छ। 

कोइरालालाई अनशनस्थल नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिरबाट विष्णु बस्यालको गाडीमा पाटन अस्पताल लगिएको हो। उनी विगत ७ दिनदेखि आमरण अनशनमा बसेका थिए। 

यसअघि अनशनस्थलमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका चिकित्सक कोइरालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएका थिए। उनलाई सास फेर्न कठिन भइरहेको छ। टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्नेलगायतका समस्या पनि देखिएका छन्। 

चिकित्सकका अनुसार कोइरालाको अक्सिजन लेभल करिब ७० मा झरेको छ। उनको बीपी पनि निकै लो भइसकेको चिकित्सकको भनाइ छ। चिकित्सकले उनलाई तत्काल अस्पताल लैजानुपर्ने बताएका थिए। तर, उनले अस्पताल जान मानिरहेका थिएनन्। 

तिलक कोइरालालाई अस्पताल लगिएपछि सयौँको संख्यामा उपस्थित लगानीकर्ताहरुले उनको जीवनरक्षाको माग गर्दै सरकारविरुद्ध नारावाजी गरिरहेका छन्।