काठमाण्डौ । सरकारले चीनमा तीव्रगतिमा फैलिरहेको कोरोनाको ओमिक्रोन भेरिएन्टको बीएफ.७ सबभेटिएन्ट नेपालमा हालसम्म पुष्टि नभएको स्पष्ट पारेको छ।

स्वास्थय मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएका बीएफ.७ हालसम्म नेपालमा पुष्टि नभएको स्पष्ट पारेको छ। भारतमा भने बिहीबार यो सबभेरिएन्टबाट ४ जना संक्रमित भएको पुष्टि भएको छ। 

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नतिजाअनुसार सबैमा ओमिक्रोन भेरियन्ट अन्य भेरिएन्ट पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। ‘नेपालमा हाल कोभिड– १९ को संक्रमणको अवस्था कम हुँदै गएको छ’, विज्ञप्तिमा भनिएको, ‘तर, विश्वव्यापी रुपमा हेर्दा केहि देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढीरहेका छन्। विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ। केही देशहरुमा संक्रमणका नयाँ भेरिएन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ।’

त्यसैले कोरोनाको संक्रमणको जोखिम फरक स्वरुपमा देखिरहेको पछिल्लो अवस्थालाई मध्य नजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा मास्कको प्रयोग गर्न, एक–अर्कामा भौतिक रुपमा दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेषत ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ। 

यस साथै सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहे पनि विज्ञप्तिमार्फत सतर्क गराइएको छ।