– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अपी पावर सेयर लगानीकर्ताको आकर्षणमा परेको कम्पनीमध्ये एउटा हो। यो २०६० मा स्थापित कम्पनी हो। यो कम्पनीले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण गरिरहेको छ। 

कम्पनीले दार्चुलाको चमेलिया नदीमा ४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बन्दैछ। यो जलविद्युतले आगामी माघ–फागुनसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ। 

रन अफ द रिभरमा आधारित छुट्टै ८ मेगावटको माथिल्लो   नौगाढ जलविद्युत आयोजना र ८.५ मेगावटको तल्लो नौगढ जलविद्युत आयोजना गरी अपी पावरले कुल ५६.५ मेगावटका जलविद्युत आयोजनाहरु निर्माण गरिरहेको देखिन्छ। 

कम्पनीले जलविद्युतबाहेक सौर्य ऊजा पनि उत्पादन गरिरहेको छ। सिमरामा १ मेगावट र पारवनीपुरमा ८ मेगावट सौर्य ऊर्जा उत्पादन प्रक्रियामा छन्। कम्पनीले ढल्केबरमा १ मेगावट र चन्द्रनिगाहपुरमा ४ मेगावट गरी कुल ५ मेगावट सौर्य ऊर्जा २०७८ सालदेखि उत्पादन गरिरहेको छ। 

कम्पनीले थप पुँजी जुटाउन ३९.३६ प्रतिशत हकप्रद पनि ल्याउन लागेको छ। हाल यो हकप्रद सेबोनको पाइपलाइनमा छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा २३ करोड २३ लाख रुपैयाँ छ। कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १०.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६ गुणा र नेटवर्थ १०८.४२ रुपैयाँ रहेको छ। 

अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको दोस्रो बजारमा प्रतिसेयर ४८० रुपैयाँ कायम रहेको छ। 

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

इलिअटमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ३ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले  बजार तल जाने संकेत गर्छन्। 

यो कम्पनीले बनाएको इलिअट वेभको रेखा चित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल इन्टरमिडिएट डिग्रीको वेभ (२) चलेको र सेयरमूल्यमा करेक्सन आएको देखिन्छ। वेभ (१) मा कम्पनीको सेयरमूल्य ६५० रुपैयाँसम्म, वेभ (२) मा ५४१ रुपैयाँसम्म र वेभ (३) मा ८१२ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। वेभ (४) मा पुनः करेक्सन भएर ७१४ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। वेभ (५) मा पुनः बढेर ९५० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ५२९ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ५०१ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ४७३ रुपैयाँ तथा ०.६१ प्रतिशतको टेवामा ४५४ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत जनवरी २५ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बियरिस बनेको  देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस  सिग्नल बनेको छ र हिस्टोग्राम भने नेगेटिभ र लामा–लामा नै भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्यमा सामान्य करेक्सन  हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ। लामो धागोसहितको रातो क्यान्डल बनेको छ। यसले  सेयरमूल्यमा सामान्य करेक्सन हुन सक्ने बुझिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यस कम्पनीको हालको आरएसआई ३६ मा रहेको छ। यो भनेको ओभर बट जोननजिक रहेको भन्ने हो। अघिल्लो पल्ट यो न्यून  विन्दु २७  को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७४.५५ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा बुलिस सिग्नल देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ५२९
  • प्रतिरोध २– ५४७
  • प्रतिरोध ३– ५६१

पिभट प्वइन्ट : ५१५

घटेमा सपोर्ट 

  • सपोर्ट १– ४९७
  • सपोर्ट २– ४८३
  • सपोर्ट ३– ४६५

निष्कर्ष

यो कम्पनी आधरभूत रुपमा पनि बलियो बन्दै गएको देखिन्छ। किनकि थुप्रै आयोजनाहरु बन्दै छन्। प्राविधिक रुपमा भोलुम विस्तारै बढेको छ। बोलिंगर ब्यान्ड र आरएसआई दुवै घट्दो देखिन्छ। यसले केही समय करेक्सनको सम्भावना पनि छ। आरएसआई ३० भन्दा तल आएर हुक बनाउँछ र हरियो मारुबुजु क्यान्डल बन्छ भने भविष्यमा खरिदको सम्भावना पनि हुन सक्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका भने होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।