काठमाण्डौ। दुई वर्षदेखि आर्थिक मन्दीमा रहेको हङकङले आर्थिक मन्दीको चपेटाबाट बाहिर निस्कन १२० बिलियन हङकङ डलर (१५.५ बिलियन अमेरिकी डलर) खर्च गर्ने भएको छ। हङकङ सरकारले अर्थतन्त्रको पुनरुत्थानका लागि आउँदो आर्थिक वर्षमा यो रकम खर्च गर्ने भएको हो। बजेट भाषणका क्रममा हङकङका वित्त सचिव पउल च्यानले हङकङ बितेका दुई वर्षदेखि मन्दीमा रहेको र अहिले कोरोना महामारीको प्रभाव पनि कायमै रहेकाले यो मन्दीबाट बाहिर आउन नसकिएको बताए। 

सन् २०१८ को चीन–अमेरिका बीचको व्यापारिक युद्ध, सन् २०१९ को आन्दोलन र वर्तमानको महामारी जस्ता संकटका कारण हङकङको अर्थतन्त्रले निरन्तर ६ त्रैमासमा संकुचनको सामना गर्नुपरेको छ। हङकङ सरकारले कोरोना महामारीबाट प्रभावित व्यापार व्यवसायका लागि खर्च बढाएकाले वर्तमान बजेट घाटा २५७.६ बिलियन हङकङ डलर (३३.२ बिलियन डलर)को रेकर्डतोड उचाइमा पुगेको छ। 

आउँदो आर्थिक वर्षमा हङकङको बजेट घाटा १०१.६ बिलियन हङकङ डलर(१३.१ बिलियन डलर) पुग्ने अनुमान गरिएको छ। अप्रिल महिनामा सुरु हुने आर्थिक वर्षमा हङकङका वित्त सचिव पउलले करिब ८.४ बिलियन हङकङ डलर (१.१ बिलियन डलर) कोरोना विरुद्धको भ्याक्सिन खरिदका लागि खर्च गरिने बताएका छन्। 

यस्तै ९.५ बिलियन हङकङ डलर(१.२ बिलियन डलर) महामारीबाट प्रभावित व्यवसायको पुनरुत्थानका लागि खर्च गरिनेछ। यसका साथै प्रत्येक नागरिकका लागि ५ हजार हङकङ डलर(६४५ अमेरिकी डलर) प्रदान गरिनेछ। – एजेन्सी