काठमाण्डौ । सन् २०२२ मा हङकङ छाड्ने मानिसहरुको संख्या वृद्धि भएको छ । हङकङबासीहरुले आफ्नो इच्छाले नभई कोभिड प्रतिबन्धहरुका कारण सहर छाडिरहेको बताएका छन् । हङकङका नागरिकहरुले कोभिड प्रतिबन्धहरुलाई प्रजातान्त्रिक मूल्य–मान्यताको क्षयिकरणका रुपमा व्याख्या गरेका छन् र यसले सहर छाड्न बाध्य पारिरहेको बताएका छन् । 

गत मार्च महिनामा ओमीक्रोन भेरियन्ट व्यापक रुपमा फैलिएपछि हङकङबाट बाहिरिने बौद्धिक जमात(ब्रेन ड्रेन)को संख्या उच्चस्तरमा पुगेको छ ।  

पहिले डिम सम(एक प्रकारको चिनिया परिकार)र फुट मसाजका बारेमा लेख्ने हङकङका सदाबाहर जीवनशैली वेबसाइटहरु यतिबेला ‘मुभिङ टु–डु लिस्ट र फेयरबेल गिफ्ट गाइड’मा केन्द्रित भएका छन् ।

हङकङका चिफ एक्ज्युकेटिभ क्यारी लाम भन्छिन्,‘सरकारको कोभिड नियमहरुले स्वास्थ्य र आर्थिक हितलाई सार्वजनिक सहिष्णुता स्तरसँग सन्तुलनमा राख्छ । हङकङले मानवअधिकार र स्वतन्त्रताको संरक्षण जारी राखेको छ र स्वतन्त्रताको उपयोग गर्दै गर्दा कानुनको पालना गर्नुपर्ने हुन्छ ।’

मानिसहरुले हङकङ छाडिरहेको विषयबारे लाम भन्छिन्,‘हङकङ प्रवेश गर्ने र बाहिरिने यो मानिसहरुको व्यक्तिगत स्वतन्त्रताको कुरा हो ।’

गत ६० वर्षको अवधिमा हङकङको जनसंख्या लगभग प्रत्येक वर्ष वृद्धि भइरहेको छ । हङकङको जनगणना तथा तथ्याङ्क विभागका अनुसार सन् १९६१ मा ३.२ मिलियन रहेको हङकङको जनसंख्या सन् २०१९ मा ७.५ मिलियन पुगेको थियो । 

सन् २०१५ देखि २०१९ को बीचमा हङकङमा वार्षिक औसत ५३ हजार नयाँ बासिन्दा थपिएका थिए । तर सन् २०२२ मार्चको पहिलो दुई सातामा मात्रै लगभग यति नै संख्यामा मानिसहरु हङकङबाट बाहिरिएको हङकङको अध्यागमन विभागले जनाएको छ । 

सन् २०२० मा हङकङबाट करिब ९३ हजार मानिसहरु बाहिरिएका थिए । त्यस्तै सन् २०२१ मा यो संख्या २३ हजार थियो । सुरुवाती आँकडा हेर्ने हो भने यो संख्या यो वर्ष अझै बढ्ने देखिएको छ । 

‘केही वर्षअघिसम्म मानिसहरु हङकङ छाड्ने बारे सोच मात्रै बनाईरहेका थिए । तर बितेको ६ महिनामा हङकङ छाड्नेको ताँती नै लागेको छ ।’

हङकङमा १७ वर्षदेखि बसोबास गर्दै गरेकी पेई सी भन्छिन् । उनका अनुसार यस वर्षको सुरुवातमा हङकङमा कोरोना पोजेटिभ बालबालिकाहरुलाई अभिभावकबाट छुट्याइएको थियो । जसका कारण अधिकांश अभिभावकहरु डराए र सहर छाड्न बाध्य भए । 

पेईका अनुसार बितेको ६ महिनादेखि १२ महिनाको अवधिमा उनका चिरपरिचित करिब ६० देखि ७० प्रतिशत साथीसंगीहरुले हङकङ छाडिसकेका छन् । जसमा हङकङमा व्यवसाय र परिवार भएका र पहिले यतै बस्ने प्रण गरेकाहरु छन् । हङकङ छाडेका अधिकांश मानिसहरु सिंगापुर प्रस्थान गरिरहेका छन् । 

व्यवसाय गर्ने सहजता, परिवारमैत्री वातावरण, कर छुट र खुला सिमानाका कारण मानिसहरु सिंगापुरतर्फ आकिर्षत भइरहेका हङकङमा आधारित रिलोकेसन कम्पनी सिल्क रेलोका सीईओ के कुट बताउँछिन् । 

-एजेन्सी