काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। 

नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ।

प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घन्टा निःशुल्क ओपीडी सेवा दिनेछन्। निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ। 

प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन्। 

प्रत्येक शनिबारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ। 

नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपीडी सेवा सञ्चालनको घोषणा गरेको छ। यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपीडी सेवा लिन सक्नेछन्। 

नर्भिक अस्पतालका सीईओ मिश्रले प्रत्येक शनिबार अलग–अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन्।