काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज (असोज २ गते) बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ राखिएको थियो।
कम्पनीले गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।
यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
क्यापिटलका अनुसार यो आईपीओमा १२ लाख ७० हजार ९९१ आवेदकबाट कुल २ करोड ९७ लाख ५९ हजार ८२० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख ६७ हजार ७०९ आवेदकबाट परेको २ करोड ९६ लाख ५१ हजार ५२० कित्ता सेयर सदर भएको छ भने ३ हजार २८२ आवेदकबाट परेको १ लाख ८ हजार ३०० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये थप १० जनाले १–१ कित्ताका दरले सेयर पाएका छन्।
यो आईपीओमा सदर आवेदकमध्ये ११ लाख ४६ हजार ३२२ आवेदकको हात खाली भएको छ।
यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइटमा तथा सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।
10 minutes ago
12 minutes ago
18 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago