काठमाण्डौ । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग नेसनल पेमेन्ट स्विच (एनपीएस)को   प्राविधिक सदस्यको रुपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई  रेमिट्यान्सको भुक्तानी गर्न सम्झौता गरेको छ। 

सम्झौतापत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।  

उक्त सम्झौतापश्चात हाम्रो पात्रो रेमिटको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछन्। हाम्रो पात्रो रेमिटको सेटल्मेन्ट बैंक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ र यस व्यवस्थाअनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबार सोझै लाभग्राहीको बैंक खातामा जम्मा गरिनेछ र चाँडै नै अन्य विभिन्न उपकरणमार्फत पनि उक्त सेवा उपलब्ध गरिनेछ।   

हाम्रो पात्रो रेमिट नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त पूर्णतः डिजिटल रेमिट्यान्स कम्पनी हो। हाल यसका सेवा अमेरिका बाट नेपालमा गरिने रेमिट्यान्स सञ्चालनमा रहेको छ भने चाँडै अन्य देशहरुमा पनि सेवा विस्तार गरिनेछ। हाम्रो पात्रो नेपालको सबैभन्दा बढी डाउनलोड गरिएको एप हो र विदेशमा रहेका नेपालीहरुले व्यापक रुपमा प्रयोग गर्दै आएका छन्। 

हाम्रो पात्रोको विस्तारित सेवाका रुपमा हाम्रो पात्रो रेमिटको यस सेवाले लाभग्राहीको खातामा छिटोभन्दा छिटो रकम जम्मा गर्नुका साथै नेपाल भित्रको डिजिटल रेमिट्यान्सको कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीएसको अंगका रुपमा रहेको छ। यसमार्फत रियल टाइम भुक्तानी (आरपीएस/कनेक्टआईपीएस) तथा नन–रियल टाइम भुक्तानी (एनसीएचएल–आईपीएस)का विभिन्न भुक्तानी प्रणालीहरुको प्रयोग गर्न सकिन्छ। यसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्था र ७३ भन्दा बढी गैरबैंकिङ संस्था इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्। 

हाल १३ वटा रेमिट्यान्स कम्पनीले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकमार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरुको प्रयोग गरी रेमिट्यान्ससम्बन्धी कारोबारहरु गर्दै आएका छन्।