काठमाण्डौ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार बिहानसम्म ६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। 

निर्वाचन आयोगका अनुसार अन्तिम नतिजाबमोजिम नेपाली कांग्रेस सबैभन्दा धेरै पालिका विजयी हुँदै पहिलो स्थान रहेको छ। २०० मेयर र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा कांग्रेसले मेयरमा ९९ र अध्यक्षमा १७६ पालिकामा जित हासिल गरेको छ । कांग्रेसले अझै ३२ मेयर र ११ अध्यक्ष पदमा अग्रस्थानमा रहेको छ। 

यसैगरी एमालेले ५७ मेयर र ११३ अध्यक्ष पदमा जित हासिल गरेको छ। एमालेले २१ मेयर र १० अध्यक्षमा अग्रता कायमै राखेको छ।

उता माओवादी केन्द्रले २० मेयर र ९२ अध्यक्ष पदमा जित निकाल्दै तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ६ मेयर र ३ अध्यक्षमा अग्रता लिइरहेको छ। 

एकीकृत समाजवादी पार्टीले १४, जसपाले १८ र लोसपाले ५ पालिका जित्दा केही पालिकामा साना दल र स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।