काठमाण्डौ । आयोजना प्रभावित र सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि मध्यभोटेकोशी जलविद्युत कम्पनीले निष्कासन गरेको आईपीओमा हालसम्म ५० प्रतिशतको हाराहारीमा खरिद आवेदन परेको छ। 

गत वैशाख २१ गतेबाट कम्पनीले हिजो मंगलबारबाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। तर कोरोना महामारी नियन्त्रणका लागू गरिएको निषेधाज्ञाका कारण यो आईपीओमा वैशाख २५ गतेबाट आवेदन दिन स्थगित गरिएको थियो।

निषेधाज्ञा खुकुलो पारिएसँगै मध्य भोटेकोशीको आईपीओमा पुनः गत साउन ५ गतेदेखि आवेदन खुलाइएको छ। साउन १० गतेसम्म यो आईपीओमा १३ हजार ७५९ आवेदकबाट २९ लाख ५६ हजार ३२७ कित्ता सेयर खरिदका लागि आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। यो हिसाबले निष्कासित कुल कित्तामध्ये ५० प्रतिशत कित्ता खरिदका लागि आवेदन परेको छ। 

यो आईपीओमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको छ।

यो आईपीओमा छिटोमा साउन १७ गतेभित्र र ढिलोमा साउन ३२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन्।

स्थानीयका लागि खुलाइएको आईपीओमा आवेदन दिन सिन्धुपाल्चोक जिल्लामा ३२ वटा र काठमाण्डौमा ७ वटा संकलन केन्द्र तोकिएको छ। यसैगरी लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ईसेवा र आईएमई पेबाट पनि आवेदन दिन सक्छन्।

कम्पनीले दोस्रो चरणमा पुँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ। 

आईपीओमा सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।