काठमाण्डौ । बैंकिङ उद्योगका दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच ‘बिग मर्जर’को संभावना बढेको छ । 

दुवै बैंकस्थित संचालक समितिसँग सम्बद्ध उच्च स्रोतहरुका अनुसार संभावित मर्जरको बिषयमा केही चरणमा कुराकानी भइसकेको छ । 

‘अहिलेको कुराकानी प्रारम्भिक चरणको मात्र हो, यसमा हामीले मर्जर संभव छ कि छैन भन्ने विषयमा केन्द्रीत रही छलफल गरेका छौ ।’ नेपाल इन्भेष्टमेन्ट बैंकका एक संचालकले बिजशालासँग भने–‘दुई बैंकबीचका समानता र असमानताको विषयमा समेत छलफल भएको छ ।’ 

मर्जरको निर्णय गर्ने पूर्ण अधिकारप्राप्त संचालक समितिमा दुवै बैंकको सहभागिता उस्तै उस्तै वर्ग तथा घरानाबाट हुँदै आएको छ । यसकारणले समेत दुवै बैंकका संचालक मर्जरमा जाँदा मिल्नसक्ने संभावनाको विश्लेषण गर्दै छलफलमा जुटेका हुन् । 

‘हालसम्म छलफल निकै अगाडि बढिसक्थ्यो होला ।’ हिमालयन बैंकका एक संचालकले भने–‘हिमालयन बैंकबाट हबिब बैंक बाहिरी अर्को विदेशी रणनीतिक साझेदार भित्रिने भएपछि त्यसले गर्दा सुरु भएको छलफलले गति लिन सकेको छैन ।’ 

नियामक नेपाल राष्ट्रबैंकका अधिकारीहरुले समेत औपचारिक र अनौपचारिक भेटहरुमा दुई बैंकका संचालक तथा सीइओहरुलाई मिलेर जाँदा केमेस्ट्री मिल्ने र मर्जरपछि सिनर्जी आउने भन्दै सुझाव दिइरहेका समेत संचालकहरु बताउँछन् । ‘राष्ट्रबैंकदेखि सबै क्षेत्रको शुभेच्छा हामी दुई बैंकबीच मर्जर होस् भन्ने रहेको देखियो ।’ स्रोतले भन्यो–‘यो शुभेच्छालाई हामीले सहज रुपमा ग्रहण गर्दै छलफल अगाडि बढाएका हौ ।’ 

छलफलको क्रममा दुई बैंकका संचालकहरुको पृष्ठभूमिमा समानता देखिए पनि यी दुवै बैंकको बैंकिङ शैलीमा भने भिन्नता देखिएको र त्यसलाई कसरी मिलाउने भन्ने बिषयमा चुनौति देखिएको छ । ‘इन्भेष्टमेन्ट बैंकमा कुनै लोन दिंदा पहिला लोन पास भएर पछि कागजात मिलाउने परिपाटी छ, माथिबाट त्यस्तै आदेश दिइन्छ मातहतका निकायलाई ।’ ती संचालकले भने–‘हामीमा त्यस्तो छैन, पहिला कागजात हेरेर उपयुक्त भए मात्र लोनको डिसीजन हुन्छ ।’ 

ती संचालकको भनाईमा इन्भेष्टमेन्ट बैंकमा राजा महाराजाको पालामा जस्तो आदेशको भरमा काम हुने, तर हिमालयनमा भने प्रक्रिया मिलाएर मात्र काम हुने भएकोले बैंकिङको दुई फरक शैलीलाई कसरी मिक्सअप गर्ने भन्ने विषय चुनौति बन्नसक्नेछ । 

हिमालयन बैंकका संचालकहरुले बिग मर्जरका लागि इन्भेष्टमेन्ट बैंकका संचालकसँग भएका केही चरणका अनौपचारिक छलफलमा आफूहरुलाई एकवर्ष कुरिदिन आग्रह गरिरहेका छन् । विदेशी रणनीति साझेदारको विषय व्यवस्थापन भइसकेपछि मर्जरको छलफललाई तीव्र पारी एउटा निर्णयमा पुग्नसक्ने हिमालयन पक्षको प्रस्ताव छ ।

यसैबीच, हालसम्म भएका अनौपचारिक छलफलहरुमा हिमालयन बैंकले मर्जर सम्झौतामा जाँदा अन्य विषयमा कम्प्रोमाइज गर्न सकिने भए पनि नामको विषयमा चाहि कम्प्रोमाइज गर्न नसक्ने प्रष्ट पारिसकेको छ । ‘इन्भेष्टमेन्ट बैंकसँग कुरा मिल्यो भने पनि हामी ‘हिमालयन’ नाम चाहि छाड्दैनौ । बैंकको नाम धेरै लामो राखेर हुँदैन ।’ स्रोतले भन्यो–‘इन्भेष्टमेन्ट बैंकले हिमालयन नाम नस्वीकारे मर्जरमा जाँदैनौ, जसले यो नाम स्वीकार्छ, त्यहीसँग मर्जर हुन्छ ।’