काठमाण्डौ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन्। उनले आज फागुन १ गतेदेखि कार्यभार सम्हालेका छन्।

नवनियुक्त सीईओ शाहले हिमालयन जनरल इन्स्योरेन्सको सीईओजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको बताए। ‘वास्तवमा भन्नुपर्दा हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ’, उनले भने, ‘आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु।’ 

यसअघि हिमालयन जनरल इन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि सीईओका रुपमा सेवा गरेका थिए। उनको कार्यकालमा कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरी व्यावसायिक छविलाई बलियो बनाउँदै भविष्यका लागि बलियो आधार खडा गर्न सफल भएको थियो।

हिमालयन जनरल इन्स्योरेन्समा आबद्ध हुनुभन्दा अघि शाह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए। उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए।

हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले भने, ‘बीमा क्षेत्रमा उहाँँको राम्रो अनुभव र बुझाइ छ । उहाँँको कार्यकालमा नेपाल सरकारको लक्ष्यअनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पु¥याउन वहाँँको उल्लेखनीय योगदान रहनेछ। उहाँँबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिति विश्वस्त रहेको छ।’