काठमाण्डौ । जारी छलफलहरुमा कुनै अप्रत्यासित अवरोध भएन भने बैशाख अन्तिमसम्म हिमालयन बैंकले एक अर्को वाणिज्य बैंकलाई आफूमा गाभ्ने प्रारम्भिक सम्झौता गर्ने भएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि कारबाहीमा परेको हिमालयन बैंकलाई चाँडोभन्दा चाँडो अर्को कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्नुपर्ने दवाब छ । यहीकारण बैंकले मर्जरका सम्भावनाहरुलाई मूर्त रुप दिने गरी आन्तरिक प्रयासहरुलाई तीव्र पारेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हिमालयन बैंकले अर्को एक वाणिज्य बैंकलाई अक्वायर गर्ने गरी आवश्यक तयारीलाई अगाडि बढाएको बताएका छन् । ‘सबै कुरा ठीकठाक नै रह्यो भने बैशाख अन्तिमसम्ममा तपाईहरुलाई सुखद खबर सुनाउन पाउँछौं ।’ उनले बिजशालासँग भने–‘नवीलले एनबीसँग सुरुमा गरेको झै सामान्य सम्झौता गरेर बाँकी कुरा त्यसपछि अगाडि बढाउने मोडलबाटै अघि बढ्ने हाम्रो विचार छ । बैशाखसम्म कुनै न कुनै बैंकसँग मर्जरको सम्झौता गरी रोकिएको लाभांश लगायतका विषयमा परेका गाँठो फुकाउनुपर्नेछ ।’ 

हिमालयन बैंकले चाँडै अन्य कुनै बैंकलाई मर्जर गर्दैछ भन्ने कुरा इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि नै चल्दै आएको हो । ‘तर, बैंकले कुन बैंकलाई प्राप्ति गर्न खोजिरहेको हो त ?’ सीइओ राणाले बैंकको नाम नै अहिले सार्वजनिक गर्न नमिल्ने बताए । 

हामीले सोध्यौं–‘तपाईहरुको क्रसहोल्डिङ भएका दुईवटा बैंक सिभिल र बैंक अफ काठमाण्डू हुन् । यी दुई बैंकमध्ये नै एउटालाई लिनुहुन्छ होला नि ?’ सीइओ राणाले भने–‘हामीलाई कम्फरटेवल हुने, इन्भेष्टमेन्ट बैंककै नियति नदोहोरिने गरी जाँदा तपाईले भनेको दुईमध्येकै एक बैंक लिनुपर्ने हुन्छ । तर, कुन लिने चाहिँ अहिले नै भनिहाल्न मिल्दैन । चाँडो मर्जर सक्नुपर्ने बाध्यता पनि रहेकोले हामी यी दुईबाहेक अरु बैंक लिने सोंचमा छैनौं ।’ 

कुन बैंक लिंदैछ हिमालयनले ?
हिमालयन बैंक र अन्य दुई बैंकका संचालकहरुसँगका कुराकानीका क्रममा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न लागेको सूचनाहरु बिजशालालाई प्राप्त भएका छन् । 

हिमालयन बैंकले सबै कोणबाट विश्लेषण गरी सिभिल बैंकलाई प्राप्ति गर्दा नै उपयुक्त हुने निश्कर्ष निकालेको उच्च स्रोतले जानकारी दियो । 

‘हिमालयनका लागि सिभिलको संचालक समिति सबैभन्दा सहज र व्यवसायिक छ ।’ एक संचालकले भने–‘बीओकेमा हामीले त्यो सहजता महसुस गर्न सक्दैनौं ।’ 

पछिल्लो समय बीओकेका संचालकहरु ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने पक्षमा बढी प्रयास गरिरहेका छन् । 

अर्का एक संचालकका अनुसार हिमालयनले बीओके भन्दा सिभिल लिँदा बढी सिनर्जी आउनसक्ने विश्लेषण गरिएको छ । 

सिभिल बैंकले पछिल्लो समय निकै लोभलाग्दो प्रगति गरिरहेको छ । हिमालयन बैंक सिभिल बैंकलाई सम्मानजनक सेयर स्वाप रेसियो दिन पनि तयार देखिएको छ । सिभिल बैंक संचालक समिति समेत सम्मानजनक सेयर स्वाप पाएको खण्डमा र कर्मचारी समायोजनमा पनि आफूले भनेजस्तो भएको खण्डमा हिमालयन बैंकमा गाभिन कुनै पनि विलम्ब नगर्ने पक्षमा देखिन्छ । 

हिमालयन बैंक पछिल्लो समय एसएमई कर्जालाई आक्रामक ढंगले विस्तार गरी कर्पोरेट कर्जाको हिस्सालाई उल्लेख्य घटाउने रणनीतिमा छ । हाल हिमालयन बैंकले प्रवाह गरेको कुल कर्जामध्ये ३० प्रतिशत मात्रै एसएमईमा गएको छ । हिमालयनले अब कुनै बैंक अक्वायर गर्दा एसएमई कर्जाको हिस्सा राम्रो भएको बैंक हेर्नुपर्ने रणनीति समेत बनाएको छ । त्यसका लागि सिभिल बैंक उपयुक्त हुने संचालकहरुको बुझाई छ । 

एनआइबीसँगको मर्जर टुट्ने एउटा कारण बैंकहरुले प्रयोग गरेका फरक–फरक बैंकिङ सफ्टवेयर पनि थिए । यसैले पनि मर्जरको एउटा कठीन विषय आइटीलाई पनि लिइएको हिमालयनका संचालक बताउँछन् । ‘आइटीको दृष्टिकोणबाट हेर्दा पनि सिभिल बैंक नै हाम्रा लागि सहज छ ।’ ती संचालकले भने–‘भिजनरी संचालक पनि सिभिल बैंकमा छन् । हामीले अक्वायर नै गर्ने भएका कारण बीओकेभन्दा सिभिल सजिलो हुन्छ ।’

ती संचालकको भनाईमा बैंक अफ काठमाण्डूका संचालकहरु आफ्नो नाम हराउने गरी कुनै पनि बैंकसँग तत्काल मर्जरको सम्झौता गर्ने पक्षमा छैनन् । ‘लुम्बिनी बैंक गाभिएपछि सो बैंकको नाम नै हराएको पीडा पनि केही संचालकलाई छ ।’ स्रोत भन्छ–‘अब कुनै बैंकसँग मर्जरमा जाँदा बीओकेको नाम नामेट हुने गरी अगाडि बढ्ने पक्षमा संचालकहरु छैनन्, यसले समेत हिमालयन बैंकसँग बीओकेको मर्जर सहज छैन ।’ 

हिमालयन बैंकको मेजर सेयर होल्डर कर्मचारी सञ्चयकोष सिभिलमा समेत मेजर सेयर होल्डरको रुपमा रहेको छ । हिमालयनले सिभिललाई प्राप्ति गरेपछि सञ्चयकोषको सेयर हिस्सा अझ मजबुत हुने र लामो समयदेखि हिमालयनमा अस्थिरता पैदा गरेको आरोप खेप्ने प्रचण्डबहादुर श्रेष्ठहरु कमजोर हुने विश्लेषण पनि एकथरिले गरिरहेका छन् । 

पछिल्लो समय प्रचण्ड श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मासँग निकटता बढाएर गभर्नरलाई पेल्न खोजेको बुझाई राष्ट्रबैंकका अधिकारीहरुमा रहेको छ । यसकारण हिमालयनलाई सिभिलसँग मर्ज गराई प्रचण्ड श्रेष्ठको समूहलाई कमजोर पार्ने रणनीतिमा राष्ट्रबैंक पनि सकारात्मक बन्नेछ । यसले समेत हिमालयन बैंकले सिभिललाई प्राप्ति गर्ने संभावनामा उर्जा थपिरहेको बुझिएको छ ।