काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलताको विकास गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। 

आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा हिमालयन क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरुका लागि एकदिने उद्यमशीलता प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले सञ्चालन गर्नका निम्ति आवश्यक ज्ञान र सीपहरुको जानकारी र प्रशिक्षण प्रदान गरिएको थियो। 

व्यापार–व्यवसाय स्थापना र सञ्चालन गर्नका लागि आवश्यक नियम–कानुनसम्बन्धी जानकारी, आवश्यकताअनुसार पुँजीको व्यवस्थापन गर्नका निम्ति उचित वित्तीय व्यवस्थापन, उत्पादित वस्तु र सेवाको बजार प्रवर्द्धन, आयकरसम्बन्धी व्यवस्थाको परिपालन र व्यापार–व्यवसाय सफल रुपले सञ्चालन गर्न आवश्यक अन्य सीप तथा ज्ञानका बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरी दिगो उद्यमशीलता प्रवर्द्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो।

कार्यक्रममा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले देशको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै अहिलेको परिवर्तनशील पृष्ठभूमिमा उद्यमीहरुले सार्थक र सान्दर्भिक क्रियाकलाप गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले दिगो रुपले व्यवसाय सञ्चालन गर्न प्राथमिकतामा राख्नुपर्ने विषयहरुसम्बन्धी जानकारी प्रदान गरे। 

हिमालयन क्यापिटलका संस्थागत परामर्श विभागका प्रमुख मुज मानन्धर प्रशिक्षक रहेका उक्त कार्यक्रमबाट ३० जनाभन्दा बढी प्रशिक्षार्थी लाभान्वित भएका छन्। 

उद्यम प्रवर्द्धनसम्बन्धी  कार्यक्रममा वुमन लिडकी कार्यकारी निर्देशक हिमा बिष्ट तथा हजुरी खाद्य उद्योगकी अध्यक्ष तथा उद्यमी हजुरी बिष्टले पनि आफ्नो उद्यमयात्राका उतारचढाव र अनुभवका बारेमा सहभागीहरुसँग अन्तर्क्रिया गरेका थिए। 

हिमालयन क्यापिटलले नेपाली पुँजीबजारमा धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धन, धितोपत्र प्रत्याभूति, संगठित संस्थाका तर्फबाट धितोपत्रधनीहरुको अभिलेख, ग्राहकका लागि लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ। वित्तीय शाक्षरता तथा उद्यमशीलता विकासका लागि विभिन्न दर्ता, सञ्चालन, तथा नीतिगत सेवा प्रदान गर्दै आएको हिमालयन क्यापिटल राष्ट्रमा उद्यम प्रवर्द्धन गर्नका निम्ति निरन्तर रुपले क्रियाशील छ।