काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले यही भदौ १५ गतेबाट २.५ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गर्ने भएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८६’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइ भने सर्वसाधारणका लागि निष्कासन गरिनेछ। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ५० हजार इकाइ छुट्याइएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन पाइनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा भदौ १९ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म बिक्री खुला गरिनेछ। 

यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।