काठमाण्डौ । विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका डेबिट क्रेडिट तथा प्रिपेड कार्डहरु स्वीकार गर्ने नेपालको एकमात्र बैंक हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ। 

बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कबीच भएको उक्त व्यवस्थाले कार्डधारकहरुलाई उनीहरुको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरुमा भुक्तानी गर्ने विकल्पहरु उपलब्ध हुनेछ। डिस्कभर्सका कार्डहरु स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरुले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरुले वार्षिक रुपमा गर्ने ५०० अर्ब डलरबराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन्।

बैंकले काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटकीय क्षेत्रहरुका विभिन्न होटेल, रेस्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरुमा रहेका आफ्ना पस मेसिनहरुमा उक्त नेटवर्कका कार्डहरु स्वीकार गर्नेछ। 

डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरुले डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरु स्वीकार गर्नेछ। नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको छ। 

नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्रान्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे, भिसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एन्ड डिस्कभर कार्ड स्वीकार गर्ने एकमात्र बैंक हो। बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० एटीएम तथा ६ हजारभन्दा बढी पस टर्मिनलहरुमा स्वीकार गर्नेछ।