– अर्जुन तिमिल्सिना

काठामाण्डौ । सेयर बजारमा चलेका धेरै कम्पनीहरुमध्ये हिमालयन डिस्टिलरी पनि एउटा हो। लगानीकर्ताको रोजाइमा रहेको यो कम्पनीको मूल्यमा धेरै उतारचढाव भएको देखिन्छ। 

हिजो बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ हजार २५० रुपैयाँ रहेको छ। हिजो एकैदिन यो कम्पनीको सेयरमूल्यमा ६१ रुपैयाँ गिरावट आएको छ। यद्यपि हिजो दिनभरको कोरोबार हेर्दा यो कम्पनीको सेयरमूल्यमा ३८३ रुपैयाँको उतारचढाव भएको देखिन्छ। किनकि हिजो दिनभरमा यो कम्पनीको सेयरमूल्य उच्च विन्दुमा ४ हजार ३९८ रुपैयाँ र तल्लो विन्दुमा ४ हजार १५ रुपैयाँसम्म पुगेको देखिन्छ। त्यही कारण पनि अल्पकालीन लगानीकर्ताहरुको रोजाइमा यो कम्पनीको सेयर पर्छ।  

हेरौँ यो कम्पनीको आधारभूत तथा प्राविधिक पक्ष

आधारभूत पक्ष

नेपालको वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो । 

कम्पनीमा संस्थापक समूहको ६२ प्रतिशत र सर्वसाधरण समूहको ३८ प्रतिशत सेयर स्वामत्व रहेको छ। यो कम्पनीले विगत २ वर्षदेखि लगातार सेयरधनीहरुलाई १०० प्रतिशतसम्म लाभांश दिँदै आएको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको सेयरपुँजी ८६ करोड ८७ लाख रुपैयाँ तथा रिर्जभमा ४९ करोड ३१ लाख रुपैयाँ रहेको छ भने खुद नाफा ३९ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९१.८६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४७.१३ गुणा र प्रतिसेयर नेटवर्थ १५६.८३ रुपैयाँ रहेको छ । 

यो कम्पनीको मुख्य उत्पादन गोल्डेन वक र ब्ल्याक वक रहेका छन् । कम्पनीले उपभोक्ताको चाहनालाई ध्यानमा राख्दै नयाँ ब्रान्ड ल्याउने घोषणा गरेको छ । 

कोभिड माहामारीमा पनि व्यवस्थापकीय उच्च क्षमता देखाई उच्च कारोबार तथा नाफा गर्न सफल हिमालयन डिस्टिलरीको सेयरमूल्य प्रतिकित्ता ५ हजार ६०७ रुपैयाँसम्म पुगेको देखिन्छ। 

प्राविधिक पक्ष

बोलिंगर ब्यान्ड 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो ।

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन् । पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड हुन्छन्। बोलिंगर ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने नै हो । अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ तर जब तल्लो रेखालाई छुन्छ तब बजारमा स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने नै हो ।

हेरौँ अब हिमालयन डिस्टिलरीको बोलिंगर ब्यान्ड

यसमा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको हुँदा आगामी दिनमा सेयरमूल्य अझै बढ्ने देखिन्छ ।

आरएसआई

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ । यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभरसोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन भनेर छुट्याइन्छ। हिमालयन डिस्टिलरीको हालको आरएसआई ४४.५० विन्दुमा रहेको छ । यसको अर्थ हुन्छ– न्युट्रल जोनभन्दा तल रहेको छ। अघिल्लोपटक यो विन्दु ९२.८४ को तहमा पुगेपछि करेक्सन आएको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यो कम्पनीको सेयरमूल्य बढ्ने देखिन्छ ।

एमएसीडी लाइन

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन् । एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको  अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो । यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुइटा लाइन हुन्छन् । यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ । यो लाइनलाई आधार  मान्ने हो भने गत ४ फेब्रुअरी २०२१ का दिन सेयरमूल्य ४ हजार ४४८ रुपैयाँमा बिक्री सिग्नल बनेको देखिन्छ। यो लाइनलाई आधार मान्दा हिस्टोग्राम नेगेटिभ तर क्रमशः छोटोछोटो हुँदै गएकोले आगामी दिनमा छिटै खरिद सिग्नल बन्ने देखिन्छ ।

 

मैनबत्ती विश्लेषण 

यो कम्पनीको अन्तिम कारोबारलाई आधार मान्दा सेतो लामो मैनबत्ती बनेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। यो मैनबत्ती जति छोटो भयो त्यति नै मूल्य घट्दै जाने हुन्छ भने जति लामो हँुदै गयो त्यति मूल्य बढ्दै जाने हुन्छ । यसलाई आधार मान्दा केही सेतो लामो भएकोले यो कम्पनीको मूल्य बढ्न सक्छ ।

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी कम्पनीको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ४४२७

प्रतिराध २– ४६०४

प्रतिराध ३– ४९८७

पिभट पोइन्ट– ४२२१

घटेमा सर्पोट 

सपोर्ट १– ४०४४

सर्पोट २– ३८३८

सर्पोट ३– ३४५५

(सेयरबजारमा प्राविधिक विश्लेष एउटा आधार र औजारमात्रै हो । लगानीकर्ताहरुले लगानी गर्दा आफ्नै अध्ययन र क्षमताअनुसार गर्नुपर्छ।)