काठमाण्डौ। हिमालय एअरलाइन्स र यती एअरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारका लागि एकआपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। 

एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले आज आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन्। हिमालय एअरलाइन्सले हाल मध्यपूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्सले नेपालभर सञ्जाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ। 

सम्झौताअनुसार दुवै एअरलाइन्सले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्न,े यात्रुहरुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवाहरु एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरुले जनाएका छन्। यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरु पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ। 

कार्यक्रममा हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्सबीचको सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए। ‘व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ’, उनले भने, ‘यस सहकार्यले व्यवसायलाई बढाएर राजश्वमा वृद्धि गर्न सहयोग पुग्नेछ।’  

यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारका रुपमा पाउँदा आफूहरुलाई खुशी र उत्साहित बनाएको बताए। उक्त सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो। 

रिमालले उक्त समझदारीले दुवै एअरलाइन्स्का यात्रुहरुले थप लाभ प्राप्त गर्नसक्ने बताए। ‘हाम्रो सञ्जाल विस्तारका लागि हिमालय एअरलाइन्ससँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुशी छौँ’, उनले भने। 

यती एअरलाइन्स् र हिमालय एअरलाइन्स्ले व्यवसायका लागि नयाँ श्रोतहरु ल्याउन, यात्रुहरुका बीच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ। 

साझेदारीले दुवै एअरलाइन्सको सम्भावित यात्रुहरुका लागि नवीन विचारहरु अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने उक्त कम्पनीले जनाएको छ। दुवै एअरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुहरुले यती एअरलाइन्स, तारा एअर र हिमालय एअरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा चाहेअनुसारको उडान सेवा छनोट गरी फाइदा लिन सक्नेछन्।