काठमाण्डौ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिबद्घताअनुरुप कोभिड–१९ संक्रमणको दोस्रो लहरको महामारीका बीच हिमालय एअरलाइन्सले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरुप प्राप्त दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ।

हिमालय एअरलाइन्सको 319-115 9N-AJK एयरबसले आज जेठ १८ र भालि जेठ १९ गते गरी तिब्बतको कुनमिङ सहरमा चारपटक उडान गरी ती खोपहरु ढुवानी गर्दैछ। हिमालयका ती उडानले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन्। प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम १०५ वटा खोपका बाकसहरु बोक्नेछ।

निःशुल्क उडानहरुमध्येका पहिलो कार्गो उडान काठमाण्डौबाट हिजो साँझ २०ः२८ बजे कुनमिङतर्फ उडी आज बिहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात नेपाली रुपैयाँ करिब २ करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान पुर्याउनेछ।

“कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पुर्याउन हिमालय एअरलाइन्स् तथा सम्वद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो। राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो”, निशुल्क कार्गो उडानवारे आफ्नो प्रतिक्रिया दि‘दै हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङले भने। 

हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्चतहको उडान सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्दछ। कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्स्को व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको छ। परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्सले अत्यन्तै सुव्यवस्थित लोडिङ र ओसार–प्रसारका विधिहरुसमेत अवलम्वन गरेको छ।

“कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पुर्याएको यो सानो तर महत्वपूर्ण योगदान हो। विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहन्छ”, खोपको पहिलो खेप काठमाण्डौ आइपुग्दा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने। 

यो महामारीको सुरुदेखि नै हिमालय एअरलाइन्स नेपाल सरकार र नेपाली जनतालाई सहयोग पुर्याउन सक्रिय रुपमा लागिपर्दै आएको छ। यसअघि हिमालयले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा सीधै रु. १ करोड सहयोग रकम जम्मा गर्नुका साथै देशका विभिन्न स्वास्थ्यसंस्था जस्तै– आम्दा हस्पिटल (दमक), प्रदेश ५ स्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल आदिलाई पीसीआर परीक्षण गर्ने मेसिनहरु, पोर्टेवल भेन्टिलेटरहरु, इन्फ्रारेड थर्मामिटरहरु र ती हस्पिटलका अग्रभागमा रही कार्यगर्ने स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पीपीई सेटहरु (सर्जिकल मास्क, सुरक्षात्मक वुट्स्, फेस सिल्डस्, डिस्पोजेवल ग्लोभ्स्, स्यानिटाइजर आदि सहित) सहयोगस्वरुप प्रदान गरेको थियो।