काठमाण्डौ । यात्रु सुरक्षालाई नै आफ्नो प्रमुख ध्येय लिएको नेपाल–चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) राखिएको छ।

उक्त जीवनदायी मसिन राखिएपश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगतभन्दा अबोप्रान्त निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुने निश्चित भएको छ। एईडी एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ। यस कार्यपश्चात हिमालय एअरलाइन्स जहाजहरुमा एईडी राखिएको राष्ट्रकै पहिलो र एकमात्र एअरलाइन्स कम्पनी भएको छ।

एईडी मध्यआकाशमा जहाज उडिरहँदा भवितव्यवश यदि कुनै यात्रुमा श्वासप्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने कार्य गर्दछ। यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वासप्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दबाब दिएर मुटु, श्वासप्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ।

विगत केही सातादेखि हिमालय एअरलाइन्सका सबै उडान कर्मचारीलाई उक्त जीवनदायी मसिनको प्रयोगबारे यथेष्ट तालिमसमेत दिएर दक्ष र निपूण पारिएको छ।

एईडीले ज्यान जोखिममा परेका यात्रुको जीवन पुनः फर्काउने हुँदा उडान यात्राभर तिनको विशेष महत्व हुने गर्दछ। तिनले अचानक हृदयगति बन्द भएका वा हुन लागेका बिरामीको हृदयगतिलाई पुनः सामान्य रुपमा फर्काउन मद्दत गर्ने हुँदा उडानमा यस्ता मसिनको उपलब्धताले नै अचानक हुनसक्ने हृदयघात, मुटु–फोक्सो असफल हुने समस्याजस्ता खतरनाक स्वास्थ्य स्थितिलाई धेरै हदसम्म उल्ट्याउन र सफलतम उपचारसमेत गर्न सकिने हुँदा मध्यआकाशमा समेत बिरामीको ज्यान बचाउन सकिन्छ।

उडानरत जहाजमा यस्ता मसिनको अभावमा कथंकदाचित कुनै यात्रुको हृदयगति बन्द हुने समस्या आइपरेमा बिरामीको उपचारको खातिर जहाज फर्काउनु पर्ने हुनसक्छ र उपचारमा आशातीत सफलता प्राप्त नहुन पनि सक्छ।

एअरलाइन्सले यस्ता मसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउन्ड ह्यान्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ। एअरलाइन्स्ले आफ्ना ग्राउन्डका सबै कर्मचारीलाई समेत सो डफिब्रिलेटरको प्रयोगबारे बृहत तालिम दिएको छ। तसर्थ हिमालय एअरलाइन्स त्रिभुवन विमानस्थलमा यस्तो सेवा पुर्याउने एकमात्र कम्पनी भएको छ। जसले विमानस्थल भ्रमण गर्ने कुनै पनि यात्रुमा आकस्मिक समस्या आइपरेमा सोको निराकरण गर्दै स्वस्थ सुरक्षाको सुनिश्चितता गर्न सकिने हुन्छ। 

आफ्ना जहाजहरुका साथै कार्यालयहरुमा समेत यस्ता मसिनहरु राख्नु हिमालय एअरलाइन्स्को सुरक्षित यात्रालाई निरन्तर प्रवर्द्धन गर्ने बृहत् प्रयासको एक हिस्सा हो।

मध्यआकाशमा उडिरहँदा आकास्मिक रुपमा यदि कुनै यात्रुको हृदयगति बन्द हुन पुगेमा सफलतम उपचार प्राप्त गर्न सक्ने खबर वास्तवमै हिमालय एअरलाइन्सका सबै यात्रुहरुका लागि सुखद् र प्रेरणादायी हुन सक्नेछ भन्ने आशा एअरलाइन्सले लिएको छ। एअरलाइन्सका सबै उडान कर्मचारीहरुको पहुँचमा उक्त सेवा रहेको र यात्रुहरुको सेवाका लागि उनीहरु सबल र सक्षम रहेका पनि बताइएको छ।