काठमाण्डौ । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढीकरण गर्दै हिमालय एअरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौँ वर्षका लागि ती सामग्री प्रदान गरेको हो।

आजै सम्पन्न संक्षिप्त अन्तर्क्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेसनरी, नोट–बुक्स्, रजिस्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्यपुस्तक प्रदान गरेका हुन्। एअरलाइन्सले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यस रोगविरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोस्टरहरुसमेत प्रदर्शनार्थ प्रदान गरेको छ।

प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीका साथ २६ जना बालबालिकाहरु रहेको एक अनाथालय हो। विगत केही वर्षदेखि ती विद्यार्थीले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुदलगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन्। भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीसँग अन्तर्क्रिया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरुबारे प्रशिक्षणसमेत दिएका थिए।

वार्षिक प्रतिबद्धत्ताको निरन्तरता कायम रहने व्यहोरा दोहोर्याउँदै हिमालय एअरलाइन्सका ब्रान्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीको उज्ज्वल भविष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्पm हिमालय सदा दृढ रहने बताइन्। प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाव्यतालाई उजागर गर्दै तिनको सपना र संकल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्देश्य रहेको समेत उनले बताइन्। कोभिड महामारी जोखिमको अवस्थामा सुधार आएसँगै सरकारले विद्यालयहरु पुनः खोल्ने भएकोले विद्यार्थीहरु भौतिक रुपमै विद्यालयमा उपस्थित भई पठनपाठनमा सहभागी हुन उत्साहित छन्।

नेपालीको महान चाड दसैँको पूर्वसन्ध्यामा हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाको मुहारमा खुसियाली ल्याउन उपरोक्त कार्यक्रम गरेको हो।

प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एअरलाइन्स आफ्नो संस्थाको पारिवारिक सदस्यझैँ भएको उल्लेखग गर्दै हिमालयले सन् २०१७ देखि पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आफू सदा कृतज्ञ रहेको बताइन्। ‘हाम्रा विद्यार्थीका शैक्षिक आवश्यकता परिपूर्ति गर्न उहाँहरुले पुर्याउनु भएको निरन्तर योगदानले हाम्रा विद्यार्थीलाई सदैव अभिप्रेरित गर्दै आउनुभएको छ’, उनले भनिन्।