एजेन्सी । विश्वका सबैभन्दा धनी मानिसको सम्पत्ति केही घण्टाको दौरानमै ३५.४ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध हिलारी क्लिन्टनले जित हासिल गर्ने भविष्यवाणीपछि विश्वभरका प्रमुख सेयर बजारमा एकाएक उछाल आई केही घण्टामै धनीहरुले यति ठूलो रकम कमाएका हुन् । 

ब्लुमबर्गका अनुसार शुक्रबारदेखि सोमबार बिहान(स्थानीय समय अनुसार)सम्मको अवधिमा यी व्यक्तिको सम्पत्ति ०.८ प्रतिशतले वृद्धि भयो । एफबीआईले हिलारीको लिक भएको इमेलको विषय अपराधसँग सम्बद्ध नभएको प्रष्टीकरण दिएपछि बीचको केही समय बिग्रिएको हिलारीको अवस्था सुधार भई उनले जित्ने भविष्यवाणीले स्थान पाएको हो । यही खबरका कारण विश्वभरको  स्टक र कमोडिटी मार्केटमा अभूतपूर्व उत्साह देखिएको छ । 

ब्लुमबर्गले जुटाएको तथ्यांक अनुसार अमेरिकाका अर्बपतिहरु राष्ट्रपतिमा ट्रम्पलाई भन्दा हिलारीलाई प्राथमिकता दिइरहेका छन् । दुवै राष्ट्रपति उम्मेद्वारहरुलाई देशका टप १७ अमेरिकीबाट चुनावी खर्चका लागि दिइएको चन्दाबाट समेत त्यहाँका अर्बपति कति चासोपूर्वक निर्वाचनको परिणाम प्रतिक्षा गरिरहेका छन् भन्ने देखिन्छ । 

अनुभवी अर्बपतिहरुको भनाईमा यदि हिलारीको पक्षमा मत परिणाम आए उनको शासनकालमा विगत १८ वर्षकै नियम तथा आर्थिक, कर वा लगानी नीतिले निरन्तरता पाउनेछ । तर, ट्रम्पले जिते धेरै पुराना नीति तथा नियम परिवर्तन हुने, यसले लगानीको वातावरण समेत बिथोलिन सक्ने उनीहरुको तर्क छ । 

ब्लुमबर्गका अनुसार हिलारीले जित्ने भविष्यवाणीले सनसनी मच्चाएकै कारण विश्वका तेश्रो सबैभन्दा धनी व्यक्ति अमेजनका संस्थापक जेफ बेजसको सम्पत्ति मात्रै केही घण्टामै २.६ अर्ब डलरले वृद्धि भएको छ । यस्तै चौथो नम्बरमा रहेका सबैभन्दा धनी वारेन बफे(ट)को सम्पत्ति पनि १.५ अर्ब डरले वृद्धि भएको छ । सम्पत्तिमा यसप्रकारको वृद्धि कुनै एक क्षेत्रमा मात्र नदेखिएको, बरु बजारका सबै क्षेत्रमा सम्बद्धहरुले यसको भरपूर लाभ उठाएका मिडिया रिपोर्टमा उल्लेख छ ।