काठमाण्डौ । दक्षिण कोरियाली अटो कम्पनीहरु हुन्डाई र कियाले अमेरिकामा रहेका करिब ५ लाख कार तथा एसयूभी सवारीधनीहरुलाई घरबाहिर पार्क गर्न सल्लाह दिएका छन्। यी कारमा आगो लाग्ने खतरा देखिएको छ। 

सीएनएनको रिपोर्टअनुसार हुन्डाई र कियाले अमेरिकामा आफ्ना धेरै कार र एसयूभी फिर्ता मगाइरहेका छन्। यी कारमा प्रदूषणका कारण एन्टी लक ब्रेक कम्प्युटर कन्ट्रोल मोड्युलमा सर्ट सर्किट भएर इन्जिनमा आगो लाग्न सक्ने सम्भावना रहेको कम्पनीहरुले जनाएका छन्। कम्पनीले पार्किङमै राखिएका कारमा आगलागीको सम्भावना रहेको स्पष्ट पारेका छन्। यही कारण यी कम्पनीहरुले घरबाहिर गाडी पार्क गर्न सवारीधनीहरुलाई सुझाव दिएका छन्। 

हुन्डाईले २०१६–२०१८ मा निर्मित सान्ता फे एसयूभी, २०१७–२०१८ मा निर्मित सान्ता फे स्पोर्ट एसयूभी, सन् २०१९ को सान्ता फे एक्सएल मोडल र २०१४–२०१५ मा निर्मित टक्सन एसयूभी फिर्ता गर्न लागेको छ। त्यस्तै, कियाले २०१६–२०१८ को बीचमा निर्मित के९०० सेडान मोडलहरु र २०१४–२०१६ बीच निर्मित सपोर्टेज एसयूभी फिर्ता मगाएको छ। 

हुन्डाईले कुल ३ लाख ५७ हजार ८३० र कियाले १ लाख २६ हजार ७४७ युनिट कार फिर्ता मगाएका छन्। 

डिलरहरुले यी कारको एन्टी–क्लक ब्रेकिङ कन्ट्रोल मोड्युल जाँच गर्नेछन् र त्रुटि भएमा नयाँ जडान गर्नेछन्। तिनीहरुको फ्युज पनि परिवर्तन गरिनेछ। यसका लागि कुनै पैसा लाग्ने कम्पनीहरुले जनाएका छन्। – एजेन्सी